कांग्रेस महाधिवेशनका लागि दुई दिन बाँकी, आकांक्षीहरु बढ्दै

0

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन शुरु हुन दुई दिनमात्र बाँकी छ । नेतृत्वमा पुग्ने आकांक्षीहरुको संख्या भने बढ्दै गएको छ । विशेषगरी कांग्रेसभित्र अहिले संस्थापन पक्ष र शेरबहादुर देउवा पक्षबीच महाधिवेशनका प्रतिनिधि तान्ने प्रयास तीब्र भएको छ । यसले गर्दा पनि संस्थापन र देउवा पक्षले नेतृत्वका लागि आफ्नो प्यानल घोषणा गर्न सकेका छैनन् ।
दुबै पक्षले सहमतिबाटै आफ्नो प्यानल घोषणा गर्ने बताइरहे पनि आकांक्षी धेरै भएपछि उनीहरुलाई व्यवस्थापनमा समस्या भएको छ । संस्थापनबाट नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र सुजाता कोइराला सभापतिको दौडमा छन् । आकांक्षीको व्यवस्थापन गर्न नसक्दा संस्थापन पक्षमा सर्वसम्मत उम्मेदवार खडा गर्न समस्या परेको छ ।
वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले आफ्नो प्यानल घोषणा गर्न संस्थापनको निर्णय पर्खिएर बसेको छ । देउवा पक्षबाट सभापतिका अरु आकांक्षी देखिएका छैनन् । तर पदाधिकारीमा भने यो समूहबाट धेरैले आकांक्षा राखेका छन् । संस्थापनबाट असन्तुष्ट आकांक्षीलाई आफ्नो समूहका आकर्षित गर्ने प्रयासमा देउवा पक्ष लागेकाले प्यानल घोषणामा ढिलाई भएको हो ।
देउवा पक्षले संस्थापन पक्षका सदस्यलाई आफूतिर तान्ने प्रयास गरिरहेका कारण उसलाई आफ्नै पक्षमा रहेका दाबेदारलाई समेत मिलाउन हम्मे परिरहेको छ । पदाधिकारीमा दाबेदारी प्रस्तुत गर्नेहरुको संख्या बढ्दै गएपछि कांग्रेसमा दुई वटा समूहबीच मात्र चुनावी प्रतिस्पर्धा हुने सम्भावना न्यून बन्दै गएको छ । पदाधिकारीका आकांक्षीहरु अब प्यानल बनाउनभन्दा बढी ध्यान आफू विजयी हुनेतर्फ केन्द्रित गर्न थालेका छन् । उनीहरुले महाधिवेशन प्रतिनिधिहरुलाई भेटेरै वा फोनबाट आफूलाई मत दिन आग्रह गरिरहेका छन् । त्यसैगरी सम्पर्क कार्यालयहरु खोलेर पनि उनीहरुले महाधिवेशन प्रतिनिधिहरुसँग सम्पर्क अघि बढाएका छन् । कांग्रेसको १३ औं महाधिवेशन आगामी बिहीबारदेखि काठमाडौंमा हुँदैछ ।

Leave A Reply

Your email address will not be published.