म्याग्दीमा सुख्खा पहिरो, हिजोदेखि बेपत्ता पाँचजना सकुशल

0

म्याग्दी । निलगिरी र अन्नपूर्ण हिमालको बीचमा रहेको म्याग्दीको नारच्याङ गाउँ विकास समितिको गल्याम्दीमा भीषण सुख्खा पहिरो गएको छ । गएराति झरेको पहिरोको धुलो आसपासका गाउँसम्म पुगेको स्थानीयबासीले बताएका छन् । धुलोले गाउँ सेताम्य भएको छ । निकै माथिबाट झरेको पहिरोले बेनी–जोमसोम सडकखण्डको भुरुङ तातापोनीसम्म धुलो पुगेको छ । सडकमार्गबाट निकै टाढा रहेको उक्त गाउँमा भएको क्षतिबारे भने अझै यकिन नभएको म्याग्दीका डिएसपी विश्वराज खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार बेनी–जोमसोम सडकखण्डको दानाबाट करिब १ दिन पैदल हिडेपछि बल्ल उक्त गाउँमा पुग्न सकिन्छ । पहिरो झरेको ठाउँ नजिक बस्ती नभएकोले मानवीय क्षति भने नभएको हुनसक्ने प्रहरीले जनाएको छ । तर स्थानीयका अनुसार गल्याम्दी १ र २ वडाका पाँच जना हिजोबाट अझै सम्पर्कमा आएका छन् । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ । पहिरो खसेकै घलेम्दी खोलाको मुहानतिर निगालो काट्न गएका पाँचजनालाई खोजीका लागि परिचालन भएको स्थानीयवासीको टोलीले सम्पर्कमा ल्याएको र उनीहरु सकुशल रहेको घलेम्दीखोला जलविद्युत् आयोजनाका इन्जिनियर विष्णु थापाले जानकारी दिनुभयो । निगालो काट्न गएराति नै जङ्गल क्षेत्रमा गएका नारच्याङ–५ का टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, सोही गाविस ६ का हुकुम पुन र ४ का टरबहादुर फगामी सम्पर्कमा आएको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.