सञ्चारकर्मीमाँझ नेता देउवा र कावा सभापति पौडेल

0

काठमाडौं । वरिष्ठ नेता शेरबहादुर देउवा र पार्टी कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज सञ्चारकर्मीहरुसँग अनौपचारिक भेटघाट गर्नुभयो । नेता देउवाले आफ्नै निवास बुढानिलकण्ठमा सञ्चारकर्मीलाई बोलाएका थिए भने सभापति पौडेलले अनामनगरस्थित निजी सम्पर्क कार्यालयमा सञ्चारकर्मीसँग भेट गर्नुभएको थियो ।
नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले पार्टीमा पछिल्लो समयमा भागबण्डाको प्रवृत्ति मौलाएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई आफ्नो नेतृत्वमा अन्त्य गर्ने बताउनुभएको छ । काँग्रेस महाधिवेशनको मिति नजिकिँदै गर्दा कावा सभापति पौडेलले आज आफ्नो सम्पर्क कार्यालय अनामनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले संसदीय दलको नेता र पार्टीको नीति तथा प्रशिक्षण विभागको नेतृत्व गरी पार्टीलाई मजबुत बनाउने काम गरेको जिकिर गर्नुभयो । उहाँले आफू सदैव लोकतन्त्र र मुलुकको आदर्श राजनीतिका पक्षमा अडिग गरेको उल्लेख गर्नु भयो ।
पार्टीमा भागबण्डा र गुटगत राजनीति अन्त्य गर्ने बताउँदै कावा सभापति पौडेलले सबैलाई मिलाएर केही दिनमा नै सभापतिमा उम्मेदवारीको औपचारिक घोषणा गर्ने जानकारी गराउनुभयो । पार्टीमा आफूले धेरै त्याग गरेको दाबी गर्दै कावा सभापति पौडेलले काँगे्रसलाई सशक्त र सक्षम बनाउन आफ्नो नेतृत्वको खाँचो रहेको औँल्याउनुभयो ।
पार्टीको यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुने १३ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन कावा सभापति पौडेलले तयारी थाल्नुभएको छ ।
यता, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकका समस्या समाधान गर्न र पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन आफ्नो नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । काँग्रेस महाधिवेशनको मिति नजिकिँदै गर्दा नेता देउवाले आज आफ्नै निवास बूढानीलकण्ठमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूमा निर्णय क्षमता रहेकाले पार्टीमा सबैलाई मिलाएर लैजाने बताउनुभयो ।
मुलुकलाई समावेशी चरित्रको बनाउन आफू नेतृत्वको सरकारले नै सबै जातजाति, महिला र पिछडिएका क्षेत्रको लागि आयोग बनाएको चर्चा गर्दै नेता देउवाले संविधानको कार्यान्वयनका लागि पनि मुलुकको सबैभन्दा ठूलो दल काँग्रेसमा आफ्नो नेतृत्वको खाँचो रहेको औँल्याउनुभयो ।
पार्टीमा आफूलाई नेताहरु बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाले समेत माया र विश्वास गरेको अवगत गराउँदै नेता देउवाले कावा सभापति रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको जिम्मेवारी दिन आफू तयार रहेको बताउनुभयो ।
नेता देउवाले पार्टीको यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुने १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताउँदै आउनुभएको छ । सभापति सुशील कोइरालाको असमायिक निधनपछि काँग्रेसको भावी नेतृत्वका लागि नेता देउवासँगै कावा सभापति पौडेल प्रमुख दाबेदारका रुपमा देखिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.