‘आर्थिक समृद्धिसहितको राजनीति अगाडि बढाउनुपर्छ’

0

काठमाडौं । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको मूल आधार नै वर्ग सङ्घर्ष भएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आज आयोजित ‘जातीय–क्षेत्रीय मोर्चा समन्वय समिति’द्वारा आयोजित ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको नयाँ संविधानले नै समाजवादलाई आत्मसात् गरेकाले त्यसलाई समृद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
सामाजिक न्यायसहितको आर्थिक समृद्धि नै राजनीतिक दलको प्रमुख विचार र कार्यनीति हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले राजनीतिसँगै आर्थिक विषयलाई पनि योजनाबद्ध रुपमा अगाडि बढाउनुपर्दछ भन्नुभयो ।
अध्यक्ष दाहालले नयाँ संविधानले अल्पसङ्ख्यक समुदाय र वर्गलाई समेत अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै भन्नुभयो, ‘‘संविधान निर्माणमा एमाओवादीले पहलकदमीबाट देशभर नयाँ रक्तसञ्चार पैदा भएको छ । जनतामा नयाँ आशा र चेतनाको रक्तसञ्चार भएको छ ।’’
उहाँले फरक एक प्रसङ्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्रीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र हो कुनै सन्धि र सम्झौता गर्न होइन ।’’
अध्यक्ष दाहालले मधेसका जनताको वास्तविक मुक्तिका लागि आफ्नो पार्टीले अगाडि सारेको कार्यदिशा नै सही र वास्तविक भएको भन्दै तराई–मधेसमा जनतालाई भ्रम छरेर आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने प्रवृत्तिविरुद्ध सचेत हुनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.