आज प्रणय दिवस

0

काठमाडौं । आज प्रणय दिवस । खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन् । प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । सहरी युवा बाहेक अन्यले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका छन् । नेपाल कमर्स क्याम्पस, मीनभवनमा स्नातक प्रथम वर्षकी समीक्षा गौतम प्रणय दिवसले नेपालका युवामा प्रेमलाई नकारात्मक रुपमा दिने बानीको विकास गरेको ठान्नुहुन्छ । उहाँले भन्नुहुन्छ—“प्रणय दिवस आफँैमा नराम्रो नभए पनि सहरी युवाले प्रेमलाई फेसनका रुपमा लिई कतिको भविष्य समेत खतरामा पारेका छन् । त्यसैले यसलाई सभ्य रुपमा मनाउन सकेमा मात्र राम्रो हुन्छ ।”
विज्ञापन कम्पनीमा कार्यरत दिवस ढकाल भने यो दिवसलाई मायाप्रेम साट्ने दिनको रुपमा लिनु हुन्छ । उहाँले भन्नुभयो— “अहिले समय फेरिएको छ । युवा धेरै सचेत छन् । आफ्नो जीवनको निर्णय आफँै गर्ने भएकाले आफ्नो जीवन साथी रोजी उनैसँग प्रेम दिवस मनाउनु नकारात्मक कुरा होइन ।”
प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९मा रोमबाट सुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लङ्घन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएका थिए ।
आदेश तोडेको आरोपमा उनलाई इपू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ । नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिङ्गीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिँदैन ।
सातदोबाटोका ६० वर्षीय बलराम भण्डारी प्रणय दिवसले नेपालमा धेरै विकृति भित्रिएको बताउनुहुन्छ । अहिलेका युवाले प्रेमको नाममा धेरै विकृति भित्र्याएको बताउने भण्डारीले प्रेमलाई पनि अहिलेका युवाले खेलौना बनाएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो—“हाम्रो समयमा अहिलेको जस्तो प्रेम गर्दै छाड्दै गर्ने चलन थिएन । यसरी खुला रुपमा प्रेम गर्ने अनुमति त्यो बेला थिएन तर अहिले त आज एउटासँग प्रेम छ, भोलि अर्कोसँग यो विकृति नभए के हो ?” उहाँले त्यसैले अहिलेका युवाको प्रेमप्रतिको भावना देखेर चिन्ता लाग्ने गरेको सुनाउनुभयो ।
उहाँको जस्तै भनाइ छ माछापोखरीकी ५५ वर्षीया भगवती न्यौपानेको पनि । उहाँले अहिलेका युवाले प्रेमलाई नबुझेको बताउनुभयो । उहाँले भन्नुभयो—“अहिलेका युवा राम्रो देख्नेबित्तिकै मन पराउने र माया गाँस्ने अनि अलिकति खटपट भए मिलाउनुको साटो तुरुन्तै छाडिदिने र अर्कापट्टि लाग्ने फेसन बनेको छ । त्यसैले अहिले सम्बन्धबिच्छेद गर्ने युवाको सङ्ख्या बढ्दो छ ।”
खासगरी युवाले एकार्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रगाढ दिनका रुपमा आजको दिनलाई उपयोग गर्छन् । आजको दिन युवाले आफ्ना प्रेमीप्रेमिकालाई रातो गुलाबको फूल उपहारका रुपमा आदानप्रदान गरेर प्रेम दिवस बनाउने गर्छन् ।

Leave A Reply

Your email address will not be published.