वीरगन्ज नाकाबाट ९ सय गाडी भित्रियो

0

वीरगन्ज । विरगन्ज–रक्सौल नाकाबाट ९ सय हाराहारीमा गाडी नेपाल भित्रिएका छन् । आन्दोलनरत मधेसी मोर्चाको झन्डै पाँच महिनादेखिको अवरोध अस्ती हटेपछि करिब ९ सय ट्रक, गाडी, ट्याक्टर नेपाल आइसकेको पर्सा प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता होविन्द्र बोगटीले नाकामा कुनै अवरोध नरहेको भन्दै अहिलेसम्म ९ सय गाडी नेपाल आएको र साढे २ सय जति गाडी भारत गएको जानकारी दिनुभयो । उहाँले धेरैजसो मालबाहक गाडी नेपाल भित्रिएको बताउँदै अहिलेसम्म चारवटा ग्यास बुलेट मात्र आएका छन् । तेल लिन गएका ट्यांकर सम्भवतः आज आउने उहाँको भनाई छ । भारतमा साप्ताहिक बिदा परेकाले आज नआएमा भोलि इन्धन बोकेका गाडी नेपाल फर्कने प्रहरी प्रवक्ता बोगटीले बताउनुभयो । हिजो इन्धन भर्न एक दर्जन ट्यांकर भारत गएका थिए । संविधान र सीमांकनप्रति असन्तुष्ट मधेस केन्द्रित दलहरुले झन्डै पाँच महिनादेखि अवरोध गर्दै आएको विरगन्ज–रक्सौल नाकाको अस्ती शुक्रबारबाट पुनः सञ्चालनमा आएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलको कमि र भारतीय नाकाबन्दीले नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुले सास्ती पाउन थालेका छन । इन्धनका लागि भारतमा अतिरित्त अवतरण र उडान गर्नुपर्ने बाध्यताका कारण उडान लागत बढेकाले उडान कटौती तयारीमा विभिन्न कम्पनीहरु लागेका छन । काठमाडौंमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसममा सामान्य खराबी आउँदासाथ विभिन्न एयरलाईन्सले आकाशमै घन्टौंसम्म फन्को मार्नुपर्ने बाध्यता छ । हिजो मात्र ओमान एयरले भारतको लखनऊमा अवतरण गर्नुपर्यो । एयर अरेबिया, थाई एयर, एयर इन्डीया, एयर चाइना, जेट एयर, टर्किस एयर लगायतका कम्पनीले नेपालमा हरेकदिनजसो एयर ट्राफिक जामको समस्या भोग्नु परेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिजो पनि यी सबै जहाजले ट्राफिक जामको समस्या भोग्नु परेको थियो । पछिल्लो समयमा भारतमा इन्धन हाल्न थप उडान र अवतरण गर्नुपर्ने भएपछि नेपाल आउने पर्यटकले समेत सास्ती बेहोर्नुपरेको छ । नेपालमा उडान भर्ने धेरै कम्पनीहरुले भारतको नयाँ दिल्ली र लखनऊमा इन्धन भर्ने गरेका छन । अतिरिक्त विमानस्थलको अभाव र भारतीय नाकाबन्दीले अन्तर्राष्ट्रिय उडान क्षेत्रमा नेपाललाई खराब गन्तव्यका रुपमा बिकास गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.