कांग्रेसको २ सय २ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिए

0

काठमाडौं । नेपाली कांग्रेसको आगामी फागुनमा हुने १३औं महाधिवेशनका लागि प्रतिनिधि चुनिनेक्रम जारी छ । कांग्रेसले अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन गरी महाधिवेशन प्रतिनिधि चुनेको हो । २ सय ४० मध्ये २ सय २ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिएका छन् । बाँकी क्षेत्रमा पनि चाँडै अधिवेशन सम्पन्न भइसक्ने कांग्रेसले जनाएको छ ।
धनुषा क्षेत्र नम्बर–५ मा निर्वाचन हुन सकेको छैन भने बारामा आइतबार हुने बताइएको छ । रौतहटका ४ ओटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भइसकेका छन् भने बाँकी क्षेत्रमा निर्वाचन हुन सकेको छैन । यस्तै, सर्लाहीको निर्वाचन २६ गते हुने बताइएको छ ।
कांग्रेसमा दुई सय ४० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले चुनिने २ हजार ८ सय ८० प्रतिनिधि हुन्छन् । विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ९८, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १ सय १९, केन्द्रीय समितिका ८४ जना सदस्यसहित जम्मा तीन हजार १ सय ८१ महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् ।
हरेक क्षेत्रबाट पाँचजनाका दरले महासमिति सदस्य चयन पनि गरिएका छन् । जिल्ला अधिवेशन भने २५ गते हुँदैछ । आगामी नेतृत्वका लागि दाबी गरिरहेका संस्थापन र देउवा पक्ष दुबैले आफ्नो पक्षमा बढी प्रतिनिधि चुनिएको दाबी गरेका छन् । केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले संस्थापन र देउवा पक्षभित्रका प्रतिनिधि फेरबदल भइरहेकाले कडा प्रतिस्पर्धाकाबीच परिणाम आँकलन गर्न कठिन भएको बताए ।
१३औं महाधिवेशनको नेतृत्वका लागि वर्तमान सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति पौडेलले दाबी गरेका छन् । यद्यपि, तीनैजना मैदानमा रहने वा दुईमात्र हुने भन्ने चाहिँ अझै यकिन भएको छैन । आ–आफ्ना पक्षमा कति संख्यामा महाधिवेशन प्रतिनिधि आए, त्यसैको आधारमा नेताहरुले उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।
यस्तै, संस्थापन पक्षले मुलुक संघीय संरचनामा गइसकेकाले केन्द्रीय समितिको आकार बढाउनुपर्नेमा जोड दिँदै आएको छ । देउवा पक्षले भने यसलाई संस्थापन पक्षको समूह व्यवस्थापनको रणनीतिकारुपमा लिएको बताइएको छ ।
निर्वाचन समिति सदस्य खातीले भने केन्द्रीय समितिको अहिलेकै आकार ठूलो भएको भन्दै आकार बढाउन नहुने तर्क गरे ।

Leave A Reply

Your email address will not be published.