पुनः सुरुभएको वार्ताले निकास दिन्छ : ठाकुर

0

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले कुनै पनि पार्टीको महाधिवेशन रोक्ने मोर्चाको निर्णय नभएको बताउनुभएको छ । उहाँले संविधान पारित गर्न हस्ताक्षर गर्ने सभासद्लाई गाउँ छिर्न अवरोध गर्ने मोर्चाले नीति बनाएपनि काँग्रेसको गाउँमा भइरहेको अधिवेशनलाई अवरोध पु-याउने कुनै योजना नरहेको प्रस्ट पार्नुभयो ।
तमलोपाले आज वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सभासद्लाई अवरोध गर्ने क्रममा तराईका केही जिल्लामा काँग्रेसको गाउँ कमिटीको छनोट प्रभावित भएको भने स्वीकार गर्नुभयो ।
अध्यक्ष ठाकुरले अवरुद्ध भएको वार्ता सुरु भएपछि निकास निस्किने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सरकारको बोली र व्यवहारको कारण अवरुद्ध भएको दुईपक्षीय वार्ता अनौपचारिक रुपमा सुरु भएको र यसले विस्तारै औपचारिकता पाउँदै निकास निकाल्ने बताउनुभयो ।
नेता ठाकुरले माघ २१ र २२ गते मोर्चाका शीर्षनेताहरुको वीरगन्जमा हुने बैठकले आन्दोलनको स्वरुप र अन्य दलहरुसँग सहकार्य गरी महागठबन्धन बनाउने विषयमा निर्णय गर्न सकिने जानकारी दिनुभयो । उहाँले अवरुद्ध गरिएको वीरगन्ज नाका खोल्ने कि नखोल्ने बारे मोर्चाको वीरगन्ज बैठकले निर्णयसमेत गर्ने बताउनुभयो ।
पत्रकारसम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै नेता ठाकुरले मोर्चाले राखेका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने तर आन्दोलनको स्वरुप आउने दिनमा परिवर्तन हुने प्रस्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.