बुथ कमिटीमै हार्ने को को ?

0

काठमाडौं । क्रियाशील सदस्यता जथाभावी बाँडिदा र कार्यकर्ताको सम्पर्कबाट टाढा हुन खोज्दाको परिणाम के हुँदो रहेछ भन्ने कुरा शुक्रबार सम्पन्न नेपाली कांग्रेसको स्थानीय अधिवेशनमा देखिएका केही झलकले प्रमाणित गरेको छ ।
केन्द्रमा ठूलो उचाइ र हैसियत प्राप्त गरेका कतिपय नेताहरू वडामै पराजित भई क्षेत्रीय अधिवेशनमा भाग लिनबाट समेत वञ्चित भएका छन् । यस्तो अवस्था सुदूरपश्चिम र सुदूरपूर्वमा बढी देखिएको छ । लामो समयसम्म सुशील कोइरालाको निकट रहेर पार्टीको केन्द्रीय सदस्यसमेत बनिसकेका पूर्वसहायकमन्त्री चन्द्रसिंह भट्टराई टिकापुर नगरपालिकाबाट बुथ कमिटीमै पारजित भए ।  उनी मात्रै होइन, कैलाली जिल्लामा देउवा पक्षका हस्ती तथा राष्ट्रिय सभामा सत्ता पक्षको नेता रहिसकेका हीरादत्त भट्ट पनि अत्तरिया नगरपालिका–१३ को बुथ कमिटीमै पराजित भएका छन् । टीकापुर नगरपालिकामा पूर्वराज्यमन्त्री सुशील  स्वाँर पनि पराजित भइन् । १६ सय क्रियाशील सदस्यता बाँडेर कैलाली जिल्लामा विवादको बीउ रोपेका नेविसंघका पूर्वउपाध्यक्ष क्षितिज भण्डारीले प्रस्तावक र समर्थकसमेत पाएनन् ।
त्यसैगरी, मोरङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिका उम्मेदवार रञ्जन थापा पनि हसनदह गाविसको बुथमै पराजित भएका छन् । अघिल्लो महाधिवेशनमा देउवा पक्षका उनी हाल संस्थापन पक्षका शेखर कोइराला निकट थिए । मोरङ जिल्लाकै महासमिति सदस्य मञ्जु राई अमरदह गाविसमा बुथ प्रतिनिधिमा हारेकी छिन् । यसैगरी महाधिवेशन प्रतिनिधि ध्रुवमाया सापकोटा पनि बुथ कमिटीमै चुनाव हारेकी छन् ।
नेविसंघका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईले काठमाडौं महानगरपालिका–१६ मा चुनाव हारेका छन् । तनहुँ जिल्लामा गोविन्दराज जोशी निकटस्थ केही पूर्वसांसदहरूले पनि बुथ कमिटीमै पराजय बेहोरेका छन् । यसरी पराजित हुनेमा पूर्वसांसद पार्वती थापा, ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष सूर्यचन्द्र हड्खले र पूर्व महाधिवेशन प्रतिनिधि पर्शुराम गिरी रहेका छन् ।

Leave A Reply

Your email address will not be published.