सेती नदीमाथिको आश्चर्यजनक प्राकृतिक पुल ओझेलमा

0

पर्यटकीय सहर पोखराको सेती नदीमाथिको प्राकृतिक पुल ओझेलमा परेको छ । पर्यटकीय नगरी पोखराको दक्षिणी भेगस्थित पोखरा उपमहानगरपालिका वडा नं १७ महतगौडा र वडा नं १५ स्थित टुटुङ्गालाई जोड्ने सेती नदीमाथि अवस्थित सयौं वर्ष पुरानो यो प्राकृतिक पुल उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।
अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको आसपासमा रहेका हिमतालहरु फुट्दा भीषण बाढीसँगै आएको माटो, बालुवा, गेग्य्रान, चट्टान र वनपैदावारका कारण पोखरा उपत्यकाको उत्पत्ति भएको र सोही समयमा पुल बनेको हुन सक्ने भूगर्भविद्ध प्रा डा कृष्ण केसी बताउनुहुन्छ ।
“दुई वर्षअघि २०६९ वैशाख २३ गते सुख्खायाममा अन्नपूर्ण हिमालको आसपासबाट आएको हिमपहिरोका कारण सेती नदीमा आएको लेदो, गेग्य्रान र ढुङ्गा तथा पोखरा भूबनोटको प्रकृति मिल्दोजुल्दो भएका कारण पनि यो तथ्यको पुष्टि हुन्छ” – उहाँले भन्नुभयो ।
सेती नदीको दायाँबायाँ जमिनमा धाँजा फाँटेर विपरीत दिशाबाट एकै साथ ढलेका ठूल्ठूला दुई वटा चट्टान एक आपसमा जोडिएको र तल्लो भाग नदीले खोलेर निकास बनाएपछि माथिल्लो भागले पुलको आकार लिएको अनुमान केसीको छ ।
पुलदेखि लगभग तीन किलोमिटर उत्तर पृथ्वीचोक नजिकै निर्मित पक्की पुल २०४८ सालको वर्षायाममा आएको भीषण बाढीका कारण भत्किए पनि ढुङ्गा र माटोबाट निर्मित यो पुललाई भने कुनै असर परेन ।
पुलको दुईतर्पm जमिन फाँटेको स्थानमा पुर्खाहरुले लामालामा ढुङ्गाका छपनी राखेपछि मानिस तथा वस्तुलाई आवतजावतमा सुविधा पुगेको स्थानीय वयोवृद्ध चुडामणि भण्डारी बताउनुहुन्छ ।
पुलको दुवैतर्पm जमिन फाँटेको स्थानमा ढुङ्गामाटोले पुरेपछि बीचको भागबाट ठूला यातायातका साधनलाई आवतजावतमा रोक लगाइएपनि साना सवारी साधन भने निर्वाध रुपमा आवतजावत गरिरहेको स्थानीयवासी बताउँछन् ।
लगभग तीनसय फिट उचाइ र ९० फिट चौडाइ रहेको पिरामिड आकारको यो पुलको दुईसय फिट दक्षिण पूर्वपट्टि झण्डै एक सयजना मानिस अट्ने सानो वन छ ।
पुरानो शिवलिङ्गसहित शङ्ख र घण्ट रहेको वनलाई अहिले पनि वात्स्यायान ऋषिको तपोभूमिको रुपमा लिने गरिएको छ । उक्त रमणीय स्थलबाट प्राकृतिक पुलको भूबनोटको स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ ।
सेती नदीमा स्नान गर्न सकिने भएकाले यसको अलौकिक धार्मिक महत्व रहेको सदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम भण्डारी बताउनुहुन्छ । सोही स्थानमा दुई दशक अगाडि शिव मन्दिर निर्माण गरी मूर्तिसमेत प्रतिष्थापन गरिएको हो ।
गत वैशाख १२ गतेको विनासकारी भूकम्पले पुलको दक्षिण पूर्वी भागमा केही क्षति पु¥याएको छ भने त्यहाँबाट झरेको चट्टानले पुल कमजोर बन्नुका साथै सेती नदीको बहावलाई समेत अवरोध पारेको छ । त्यसतर्फ सम्बन्धित निकायको ध्यान तत्काल आकृष्ट हुनुपर्ने विज्ञहरुको धारणा छ ।
पुलको दक्षिणपट्टिबाट नदीजन्य वस्तु निकाल्नुका साथै पुलबाट ठूला यातायातका साधन ओहोरदोहोर गर्दा पुल दिनप्रतिदिन कमजोर हुन थालेपछि स्थानीय जनताको पहलमा नदीजन्य वस्तुको निकासी र पुलबाट ठूला यातायातका साधनलाई प्रवेश निषेध गरिएको प्राकृतिक पुल ढुङ्गेसाँघु संरक्षण समितिका अध्यक्ष श्यामप्रसाद शर्माले जानकारी दिनुभयो ।
स्थानीय जानकी निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका शर्माले भन्नुभयो – “प्रकृतिले दिएको बरदानलाई प्रचार गरी आन्तरिक एवम् वाह्य पर्यटन प्रवद्र्धन गर्न सके त्यसबाट हुने आम्दानी विद्यालयको शैक्षिक विकासका साथै अन्य सामाजिक गतिविधिमा उपयोग गर्न सकिन्छ ।”
प्राकृतिक सम्पदाको उचित संरक्षण, सम्बद्र्धन र विकासका लागि नेपाल सरकार पर्यटन मन्त्रालयबाट रु। १५ लाख र पाँच लाख बराबरको स्थानीय जनसहभागिता परिचालन गरी पुलको दक्षिण पश्चिममा आवश्यक भौतिक पूर्वाधार बनाउन सुरु गरिएको ढुङ्गेसाँघु पर्यटनस्थल संरक्षण समितिका अध्यक्ष नरेन्द्र गिरीले बताउनुभयो ।
अमेरिकाको भर्जिनिया राज्यमा रहेको प्राकृतिक पुल विश्वको सातौं आश्चर्यमध्ये एक भएको अमेरिकाले दावी गर्दैआएको छ । यो पुल २१५ फिट उचाइ र ९० फिट चौडाइ रहेको बताइएको छ ।
धार्मिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण प्राकृतिक पुल परिसरलाई विकास गर्नु अपरिहार्य भएको बताउँदै राष्ट्रिय परोपकार महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष भागवत् भाष्कर कमलनयन गौतमले पुल तल रहेको शिवालयसम्म पुग्ने बाटो निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
प्रकृतिप्रदत्त उपहारको संरक्षण, सम्बद्र्धन र विकासका साथै सम्भाव्यता अध्ययन अनुसन्धान गरी यो पुलको प्रचारप्रसार गर्न सकिए स्वदेशी तथा विदेशी पर्यटकका लागि महत्वपूर्ण गन्तव्य हुनसक्ने विश्वास लिइएको छ ।

Leave A Reply

Your email address will not be published.