काँग्रेसको गाउँ तथा नगर अधिवेशन नसर्ने

0

काठमाडौं । नेपाली काँग्रेसको यही १५ गतेका लागि तय भएको गाउँ तथा नगर अधिवेशन सोही मितिमै हुने भएको गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अधिवेशन सर्ने कुनै सम्भावना नभएको दाबी गर्नुभयो । “अधिवेशन सर्नेसम्बन्धी आशंका र प्रश्न किन आइरहेको छ, मैले पनि बुझेको छैन”, अधिकारीले भन्नुभयो । उहाँले अधिवेशनको तयारी तीव्र तरिकाले भइरहेकाले निर्धारित समयमै सबै अधिवेशन सम्पन्न हुने बताउनुभयो ।
सबै जिल्लामा निर्वाचन अधिकारी गइसकेको र निर्वाचनका लागि आवश्यक सामग्री पनि पठाइसकिएकाले अधिवेशन नसर्ने उहाँको भनाइ छ । काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले गाउँ तथा नगर तहको अधिवेशन सर्ने आफूले अहिलेसम्म कुनै सङ्केत नदेखेको बताउनुभयो । “सर्ला भन्ने मलाई लाग्दैन, केन्द्रीय कार्यालयको तर्फबाट गर्नुपर्ने सबै काम भइसकेकोले सर्नुपर्ने कुनै कारण देख्दिन,” शर्माले भन्नुभयो ।
काँग्रेसको गाविसस्तरको गाँउ अधिवेशन र नगरपालिकाको वडा अधिवेशन यही माघ १५ गते हुने तय भएको छ । त्यही दिन हुन नसकेको नगरस्तरको अधिवेशन भने १६ गते गर्न सकिने व्यवस्था काँग्रेसको निर्वाचन समितिले मिलाएको छ ।
काँग्रेसको गाउँ तथा नगर अधिवेशनमा चार लाख ७० हजार ६५५ जना क्रियाशील सदस्य सहभागी हुन पाउने छन् । उनीहरुले गाउँ तथा नगरको कार्यसमिति, महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छन् । निर्वाचन क्षेत्रस्तरको अधिवेशन भने माघ २२ गते, जिल्लास्तरको अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० गते देखि २३ गतेसम्म गर्ने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.