प्रहरीको गोली लागेर तीनको मृत्यु

0

विराटनगर । मोरङको रंगेलीमा विहीबार प्रहरीको गोली लागेर दुई महिलासहित तीनजनाको मृत्यु भएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले संविधान जागरणसभा आयोजना गरेकोमा त्यसलाई बिथोल्न गएका आन्दोलनरत् मधेसी मोर्चाका कार्यकतालाई रोक्नेक्रममा झडप भएपछि प्रहरीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा रंगेली ४ घर भएकी ५८ वर्षीया द्रौपदीदेवी चौधरी, स्थानीय शिवु माझी र बरडंगा–२ का ऋषिदेव रहेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले विहीबारको घटनामा तीनजनाको ज्यान गएकोे पृष्टि गरेका छन् । दुईजनाको घटनास्थलमै र ऋषिदेवको उपचारका क्रममा गोल्डेन अस्पतालमा मृत्यु भएको हो । झडपमा प्रहरी र प्रदर्शनकारीतर्फ उत्तिकै घाइते भएको जनाइएको छ ।
दुईजना प्रदर्शनकारीको गोल्डेन अस्पतालमा उपचार सम्भव नभएपछि धरान लगिएको छ । गोल्डेन अस्पतालमा पाँचजना घाइतेको उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशलाई खुकुरीको चोट लागेको पाइएको चिकित्सकहरुले जनाएका छन् ।
रंगेलीको नेपाल बैंक अगाडि युवा संघले कार्यक्रम गरिहेको बेला विहीबार अपराह्न मधेसी मोर्चाका कार्यकर्ताहरु लाठी र भाटासहित कार्यक्रम स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो । भीड निकै बढेपछि प्रहरीले भीड नियन्त्रण गर्न ५० राउन्ड गोली चलाएको थियो । थप हिंसात्मक घटना हुन नदिन स्थानीय प्रशासनले विहीबार साँझदेखि रंगेली क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
मधेसी मोर्चाका कार्यकर्ताले एमाले सभामा सहभागी भइ फर्केका कार्यकर्ता चढेको बसमा आगजनी गरेका छन् भने डाइनियास्थित प्रहरीचौकीमा आगजनीसमेत गरेका छन् । युवा संघले प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने घोषणा गरेपछि मोर्चाले बुधबारदेखि नै कार्यक्रम बिथोल्ने घोषणा गरेको थियो । मोरङ प्रशासनले बुधबार नै सर्वदलीय बैठक बोलाएर सहमति कायय गराउने प्रयास पनि गरेको थियो ।

Leave A Reply

Your email address will not be published.