कार्यदल र मोर्चाको बैठक अलपत्र

0

काठमाडौं । मोर्चा र तीन राजनीतिक दलबीच सहमति हुने भएको हिजो अबेर प्रधानमन्त्री निवास बालुवाटारमा भएको  वार्तामा कुनै प्रगति हुन सकेन, बिना निष्कर्ष टुगियो ।
प्रमुख तीन दल र कार्यदलको बैठकमा आइतबार नै उठेका केही विषयमा सामान्य छलफल भए पनि अन्य विषयमा कुनै कुराकानी नै नभई सकिएको थियो । कार्यदलका सदस्य एवम् सङ्घीय समाजवादी फोरम नेपालका नेता डा मङ्गलसिद्धी मानन्धरका अनुसार कार्यदलको बैठकमा कुनै छलफल भएन ।
प्रमुख तीन दलका तर्फबाट शीर्ष नेतृत्व तहमा नै छलफल जारी रहेको विचार व्यक्त भएको भन्दै उनले वार्ता परिणाममुखी बनाउनेतर्फ भन्दा अल्मल्याउने ढङ्गले प्रस्तुत भएको आरोप लगाए । मोर्चाले आइतबारको बैठकमा सहमतिको आधार भन्दै छबुँदे प्रस्ताव पेस गरेको थियो । सोही प्रस्तावमाथि आजै शीर्ष नेतृत्वले छलफल गरेको थियो ।
प्रमुख तीन दल र मोर्चा सम्बद्ध कार्यदलले व्यवस्थापिका–संसद्को बैठक बस्नु अगावै सहमति गर्ने बताउँदै आएका थिए । तर शीर्ष नेतृत्व र कार्यदलको बीचमा समेत सहमति नभएको खण्डमा सहमति हुने आधार भने तयार हुन नसकेको डा मानन्धरले बताए ।
कार्यदलका अर्का सदस्य एवम् तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश रायले पनि आजको वार्तामा कुनै ठोस प्रगति हुन नसकेको प्रतिक्रिया दिए ।
प्रमुख तीन दल र आन्दोलनरत मोर्चाका तर्फबाट हिजै सहमति हुने धारणा सार्वजनिक भएको थियो । कार्यदलको वार्तामा कुनै प्रगति हुन नसकेपछि व्यवस्थापिका–संसद्को बैठक बस्नु अगावै सहमति हुने सम्भावना लगभग समाप्ति भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.