काँग्रेसको क्रियाशील सदस्यता सूची वेबसाइटमा

0

काठमाडौं ।  नेपाली काँग्रेसले क्रियाशील सदस्यको नामावली आज आफ्नो वेबसाइटमा राखेको छ । वेबसाइटमा जिल्लाअनुसार नयाँ र पुरानो गरी छुट्याएर नामावली प्रकाशित गरिएको हो । वेबसाइटमा क्रियाशील सदस्यको क्रियाशील नं नाम, थर, बुबा वा पतिको नाम र थर, लिङ्ग, जिल्ला, निर्वाचन क्षेत्र नंं गाविस वा नगरपालिका वडा नंं र टोलसमेत उल्लेख गरिएको छ । क्रियाशील सदस्यता सूची हेर्नका लागि काँग्रेसको आधिकारिक वेबसाइट http://www.nepalicongress.org मा क्लिक गरेर Username:// congressnc Password:// congress123 / राखेपछि विवरण देखिन्छ ।
तेह्रौँ महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५ जनाको नामावली वेबसाइटमा राखिएको काँग्रेस केन्द्रीय कार्यालयमा सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।
काँग्रेसको १२औँ महाविधेशनका लागि तीन लाख १३ हजार ८३६ जना क्रियाशील सदस्य रहेका थिए । त्यसमध्ये दुई लाख ५७ हजार ४०२ जनाले नवीकरण गरेका छन् भने १३औँ महाधिवेशनका लागि कुल दुई लाख दुई हजार १७९ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको पनि सचिव शर्माले बताउनुभयो ।
उहाँका अनुसार अघिल्लो महाधिवेशनमा कायम रहेर अहिले नवीकरण नगर्ने क्रियाशील सदस्यको सङ्ख्या ५९ हजार ४६४ रहेको छ । तेह्रौँ महाधिवेशनका लागि सबैभन्दा कम नवीकरण भएको मुस्ताङ जिल्लामा १८४ जनाले क्रियाशील सदस्यता नवीकरण गरेका छन् । त्यसैगरी सबैभन्दा कम नयाँ सदस्यता स्वीकृत हुनेमा मनाङ जिल्ला परेको छ । मनाङमा १३औँ महाधिवेशनका लागि १३५ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको छ ।
क्रियाशील सदस्यता नवीकरण गर्नेमा सबैभन्दा अगाडि झापा जिल्ला देखिएको छ । झापामा १३औँ महाधिवेशनका लागि १० हजार ७९१ जनाले सदस्यता नवीकरण गरेका छन् । सबैभन्दा धेरै नयाँ क्रियाशील सदस्यताको स्वीकृति पाउने जिल्ला भने चितवन भएको छ । चितवनमा नौ हजार ८०७ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको केन्द्रीय कार्यालयका सचिव शर्माले बताउनुभयो ।
विभिन्न देशमा रहेका काँग्रेसका नेपाली जनसम्पर्क समितिमार्फत प्राप्त निवेदनका आधारमा ११ हजार ७४ जनाले क्रियाशील सदस्यता पाएका छन् । नेपाली काँग्रेसले पहिलोपटक क्रियाशील सदस्यतासम्बन्धी विवरण वेबसाइटमा राखेको हो । अहिले महाधिवेशनका लागि केन्द्रित गरेर राखिएको र यसलाई विस्तारै थप व्यवस्थित र परिमार्जित गरिँदै लगिने पनि केन्द्रीय कार्यालयका सचिव शर्माले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.