काँग्रेस पदाधिकारी बैठकको निर्णयप्रति असन्तुष्टि

0

नेपाली काँगे्रस पदाधिकारी बैठकले क्रियाशील सदस्यताका सम्बन्धमा सोमबार गरेको निर्णयप्रति सम्बन्धित तीन जिल्लाका सभापतिले असन्तुष्टि व्यक्त गरेका छन् । कैलाली, रौतहट र सोलुखुम्बु जिल्ला सभापतिले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त जिल्लाका नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा पदाधिकारी बैठकले गरेको निर्णयको विरोध गरेका हुन् ।
कैलाली काँगे्रसका सभापति नरनारायण शाहले प्रक्रिया पु-याई वैधानिक रुपमा भरिएका चार हजार नयाँ क्रियाशील सदस्यतालाई १३ औँ महाधिवेशनमा मतदानको अधिकारबाट वञ्चित गर्ने निर्णय गलत मनसायले गरिएको बताउनुभयो । सोमबार बसेको काँगे्रसको पदाधिकारी बैठकले कैलाली, सोलुखुम्बु र रौतहटको क्षेत्र नं ४ का नयाँ सबै क्रियाशील सदस्यतालाई हाललाई स्थगन गर्ने निर्णय गरेको थियो । पदाधिकारी बैठकले गरेको सो निर्णयसँगै त्यस्ता सदस्यता हाललाई मतदान गर्ने अधिकारबाट बन्चित भएका छन् ।
रौतहट काँगे्रसका सभापति कृष्ण यादवले नयाँ सदस्यतालाई स्थगन गरी पदाधिकारी बैठकले नयाँ क्रियाशील सदस्यताको अपमान गरेको आरोप लगाउनुभयो । सोलुखुम्बु पार्टी सभापति आङ्गेलु शेर्पाले पदाधिकारी बैठकले एकलौटी ढङ्गले विधि र विधानलाई मिचेर आफूखुसी क्रियाशील सदस्यता वितरण गर्ने र बदर गर्ने निर्णय गरेको भन्दै यस अघिको अनशन जारी रहने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा जिल्ला सभापतिहरुले पार्टीले जिल्लैपिच्छे फरकफरक मापदण्ड बनाई व्यवहार गरेको भन्दै दुःख व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.