शीर्ष दलको साझा धारणा, त्रिपक्षीय वार्तामा मोर्चा अनुपस्थित

0

काठमाडौं, १८ मङ्सिर । मुलुकको पछिल्लो राजनीतिक समस्यालाई समाधान गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रमुख दलबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । तीन दलले साझा साधारण बनाएपछि आन्दोलनरत मधेशी मोर्चासँग त्रिपक्षीय छलफल गर्ने तयारी भएको थियो । तर त्रिपक्षीय वार्तामा मधेशी मोर्चा अनुपस्थित भयो । वार्तामा बस्नुको सट्टा मधेशी मोर्चाका नेताहरु भारतीय दूतावास लैनचौर प्रवेश गरेका थिए । वार्तामा बस्नकै लागि भनेर जनकपुरबाट उपेन्द्र यादव र महन्थ ठाकुर दिउँसो ३ बजे काठमाडौं आएका थिए ।

बिहीबारको बैठकमा संविधान संशोधन विधेयक अगाडि बढाउन सहमत भएका दलले तराई मधेसमा आन्दोलनरत दलसँग कुन आधारमा कसरी सहमति गर्न सकिन्छ भन्नेमा छलफल केन्द्रित गरेको बताइएको छ । प्रमुख दलसँगको छलफल र समान धारणा तय गरेपछि मधेसी मोर्चासँग पुनः सामूहिक छलफल गर्ने तयारी गरिएको छ । लामो समयदेखिको तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको जनजीवन नराम्ररी प्रभावित भएको, दैनिक उपभोग्य वस्तुको आयात, इन्धनलगायत अत्यावश्यकीय सामग्री अभाव भएको भन्दै तत्काल समस्या समाधान गर्न लाग्नुपर्नेमा प्रमुख दल सहमत भएका छन् ।
आजको बैठकमा संविधान संशोधनको विषयमा छलफल केन्द्रित हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीमबहादुर रावल र नेता एवं कानुनमन्त्री अग्नि खरेल, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति सुशील कोइराला, महामन्त्री कृष्णप्रसाद सिटौलालगायतको सहभागिता छ ।

Leave A Reply

Your email address will not be published.