मन्त्रिपरिषद् मा ओलीको ठट्टा

0

काठमाडौं, १५ मंसिर । उत्ताउला उखान टुक्का र छुद्र वचनका धनी प्रधानमन्त्री खड्गप्रसाद ओलीले नयाँ थेगो सुरु गरेका छन् । पूर्ववर्ती सरकारका प्रधानमन्त्री सुशील कोइरालाले स्थानीय निर्वाचन गराइछाड्ने थेगो प्रयोग गरे जस्तै अहिलेका प्रधानमन्त्री ओलीको थेगो छ– ‘मैले संकेत पाइसकेको छु, एक दुई दिनभित्रै भारतीय नाकाबन्दी खुकुलो हुनेछ  ।’
प्रधानमन्त्री पदमा निर्वाचित भएको दिनदेखि नै ओलीको मुखमा यो थेगो झुन्डिन थालेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिकताका लागि दिएको बधाईलाई निकै उपलब्धिमूलक भएझैं गरी प्रचार गर्दै प्रधानमन्त्री ओलीले भन्न थालेका थिए– ‘मोदीजीसँग मेरो टेलिफोनमा कुराकानी भइसक्यो, अब छिट्टै नाकाबन्दी अन्त्य हुने संकेत मैले पाएको छु ।’ करिब १५ दिन जति ओलीले दिनहुँजसो यो थेगो प्रयोग गरिरहे ।   नाकाबन्दी झन् कडाइ पारिएपछि यो थेगो प्रयोग गर्न केही दिन रोकिएकै बेला भारतीय राजदूत रणजित रायले विभिन्न पार्टीका नेताहरूसँग भेट गरेका थिए । भेटवार्ताका क्रममा उनले अरु नेतासँग के कुरा गरे, त्यो बाहिर नआए पनि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने भेटवार्तालाई निकै प्रचारमा ल्याए ।
भारतीय राजदूत रायले ‘तपाईहरू घरभित्रको समस्या सुल्झाउनोस्, दुई दिनभित्र हामी नाकाबन्दी हटाइदिन्छौं’ भनेको कुरामध्ये पौडेलले भाषा सम्पादन गर्दै ‘दुई दिनभित्रै नाकाबन्दी खुलाइदिन्छौं’ भन्ने वाक्यांशलाई बाहिर ल्याए । भोलिपल्टका मिडियाले पनि यही भनाइलाई प्राथमिकता दिएर प्रचारमा ल्याए । प्रधानमन्त्री बनेपछि अखबार पढ्नका लागि मात्रै राज्यको ढुकुटीबाट मासिक एक लाख १२ हजार रुपैयाँ खर्च गर्न थालेका एमाले अध्यक्ष ओलीले पनि उक्त समाचार सुनेपछि फेरि भन्न थाले– ‘एक दुई दिनभित्रै नाकाबन्दी खुकुलो हुने संकेत पाएको छु ।’ यतिसम्म कि मन्त्रालयका सचिवहरूलाई आफ्नो कार्यकक्षमा भेला गरेरै प्रधानमन्त्री ओलीले भने– ‘नाकाबन्दी एक दुई दिनभित्रै खुल्ने संकेत पाएको छु, तैपनि विकल्पका लागि तयार हुनोस् ।’ तर के विकल्प हो ? र, कसरी तयार हुने भन्ने कुरा भने सचिवहरूले प्रधानमन्त्री ओलीको मुखबाट सुन्न पाएनन् ।
प्रधानमन्त्री बनेको एक महिनाको उपलब्धिबारे देशवासीलाई सम्बोधन गर्ने दिनको मध्याह्नसम्म पनि प्रधानमन्त्री ओलीले त्यही थेगो दोहो¥याइरहेका थिए । यसैगरी, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीलाई आफ्नो विशेषदूतका रूपमा दिल्ली पठाएको र भारतीय जनता पार्टीका नेता विजय जोली नेपाल आएको केही दिनपछि नै प्रधानमन्त्री ओलीले नाकाबन्दी एक दुई दिनभित्रै खुल्ने संकेत आफूले पाएको बताउन थालेका छन् । यतिसम्म कि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री ओलीले ठट्टाको शैलीमा यो थेगो प्रयोग गरेका थिए । उनले यो थेगो प्रयोग गर्दा मन्त्रिपरिषद्को बैठकमा केहीबेर हाँसो छाएको थियो ।
इन्धन आपूर्तिका लागि विकल्पको व्यवस्था गर्न नसकेकै कारण यस्तो थेगो प्रयोग गर्न प्रधानमन्त्री ओली बाध्य भएको एमाले स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीको व्यक्तिगत रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध शून्य छ । जसले म भारत मिलाउँछ भन्छ उसैको भर पर्ने गरेका उनले यो थेगो जब जब प्रयोग गर्छन्, तबतब मधेसी आन्दोलनले नछोएका नाकाहरूबाट समेत इन्धन आयात ठप्प हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.