भारतीय राजदुतलाई फिर्ता पठाउन माग

0

काठमाडौं, ११ मंसिर । सरकारले अत्यावश्यक बस्तुमा कालोबजारी गर्ने ११९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिएको छ । व्यवस्थापिका–संसद् अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री शक्ति बस्नेतले कालोबजारी गर्ने ११९ जनालाई पक्राउ गरी मुद्दा चलाइरहेको जानकारी दिएका हुन् ।
समितिले देशको सीमामा भएको अवरोधबाट मुलुकमा हरेक क्षेत्रमा देखिएको संकट र अत्यावश्यक बस्तुको कालोबजारी नियन्त्रण सम्बन्धमा गरेको छलफलमा गृहमन्त्री बस्नेतले २० वटा पेट्रोल पम्पले कालोबजारी गरी अनियमितता गरेको पाइएकाले कारबाही प्रक्रिया अघि बढाइएको बताए । मन्त्रीले बस्नेतले कालोबजारी संगठित व्यवसायको रुपमा परिणत भइरहेको र चर्को मूल्यबाट जनताको ढाड सेक्ने काम भइरहेकाले यसको प्रभावकारी नियन्त्रणका लागि सरकारले काम गरिरहेको जानकारी दिए । मधेस केन्द्रीत दलहरुले सुनियोजित ढंगले काठमाडौंलाई अस्तव्यस्त गर्ने काम गरिरहेको उनको भनाई थियो ।
मन्त्री बस्नेतले तस्करी र कालोबजारी नियन्त्रण गर्न प्रहरी प्रशासन संयमित र जिम्मेवार ढंगले अघि बढिरहेको बताए । बैठकमा समितिका सदस्यहरुले मुलुकको संकट समाधान गर्न सरकार कुटनीतिक र राजनीतिक रुपमा असफल भएको आरोप लगाएका थिए । उनीहरुले नेपालस्थित भारतीय राजदुत रञ्जित रेले नेपालको अवस्थाबारे मनपरि ढंगले अभिव्यक्ति दिँदै आएको भन्दै उनलाई अविलम्व स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गरे ।

Leave A Reply

Your email address will not be published.