मधेस आन्दोलन हिंसात्मकतातर्फ मोडियो : डा भट्टराई

0

काठमाडौं, ५ मंसिर । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल–भारत सीमामा जारी मधेस आन्दोलन तत्काल समाधान गर्न सत्तारुढ दल र नेपाली काँग्रेसका शीर्ष नेताले व्यक्तिगत स्वार्थ र हठ त्यागेमा तत्काल निकास निस्कने बताउनुभएको छ ।
डा भट्टराईले आज नयाँबानेश्वरमा उहाँको बहूचर्चित ‘नयाँ शक्ति’का बारेमा पत्रकारको जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले आयोजना गर्नुभएको प्रश्नउत्तर कार्यक्रममा सत्ताधारीले सत्तामा टिक्न देखाएको राष्ट्रवाद अन्धो राष्ट्रवाद भएको जानकारी दिनुभयो ।
उहाँले सत्तारुढ दलका शीर्ष नेताले अन्धो राष्ट्रबादबाट प्रेरित भई छिमेकीलाई सत्तोसराप गरेको देख्दा आफू आश्चर्यमा परेको बताउँदै सीमाङ्कनको मुद्दामा सरकारले लचकता अपनाउने हो भने मधेस आन्दोलन तत्काल समाधान हुने जानकारी दिनुभयो ।
मधेसी मोर्चाले सीमामा विभिन्न माग राखी गरेको आन्दोलन साउन ३१ गतेदेखि सुरु भएको थियो । मोर्चाले तराईमा दुई प्रदेश, सीमाङ्कनका आधारमा प्रदेशको बाँडफाँड, समानुपातिक प्रतिनिधित्वका आधारमा उच्च तहमा मधेसीको नियुक्तिलगायतको माग राखी आन्दोलन गर्दै आएका छन् । आन्दोलनबाट मुलुकले करिब रु आठ खर्ब बराबरको नोक्सानी व्यहोरी सकेको छ ।
कार्यक्रममा डा भट्टराईले नयाँ शक्ति छिट्टै राजनीतिक दलमा रुपान्तरण हुने र दलको मुख्य मुद्दा मुलुकको आर्थिक समृद्धिमा केन्द्रित रहने बताउँदै आफ्नो दलमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता आबद्ध हुने दाबी गर्नुभयो ।
उहाँले छिमेकीलाई गाली गर्नुको सट्टा उनीहरुले अवलम्बन गरेको आर्थिक उन्नतिको बाटो पहिचान गरी मुलुकको आन्तरिक समस्या समाधानमा तत्काल अग्रसर हुन सत्ताकेन्द्रित दलसँग आग्रह गर्नुभयो ।
डा भट्टराइले मधेस आन्दोलनको फाइदा उठाउँदै भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीबाट नेपाली दुःखी भएको उल्लेख गर्दै मधेस आन्दोलन हिंसात्मकतातर्फ मोडिएको पनि बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.