प्रमुख दल अहिले एकताबद्ध भएर उभिनुपर्छ : नेम्वाङ

0

काठमाडौँ, ३० कात्तिक । तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नयाँ संविधान कार्यान्वयनमा आउन सक्ने सबै खाले चुनौतीको सामना गर्न सिङ्गो देश अहिले एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सञ्चारमाध्यममा संविधानसभा एवम् व्यवस्थापिका–संसद् क्षेत्रमा काम गर्ने समाचारदातालाई आफ्नो कार्यकाललाई सफल तुल्याउन पु-याएको योगदानलाई धन्यवाद ज्ञापन गर्न आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो– “संविधानको प्रभावकारी ढङ्गबाट कार्यान्वयनको सुनिश्चित नभएसम्म प्रमुख दल एकताबद्ध भएर उभिनुपर्छ ।”
जनआन्दोलनको उपलब्धिका रुपमा संविधानसभाबाट सबै प्रक्रिया पु-याएर दुई तिहाइभन्दा अत्यधिक बहुमतबाट जारी भएको संविधान कार्यान्वयन गर्ने बेलामा संयुक्त रुपमा जनान्दोलन हाँकेका र संविधान जारी गरेका प्रमुख दल अहिले नै दुई कित्तामा उभिनु हुँदैनथ्यो भन्दै पूर्वसभामुख नेम्वाङले जुन अवस्थामा संविधान जारी गर्न सकियो त्यो निकै ठूलो उपलब्धि हो भन्नुभयो ।
“नेपाली जनताले ठूलो सङ्घर्षबाट प्राप्त गरेको संविधानको सफल कार्यान्वयनका लागि अहिले सबैको भूमिका महत्वपूर्ण रहने छ ”– उहाँले भन्नुभयो ।
राजनीति भनेको पेसा र व्यवसाय नभएकाले यसलाई कसैले पनि कमाइ खाने भाँडो बनाउन हुँदैन भन्नेमा आफू दृढ रहेको बताउँदै नेम्वाङले संविधानको कार्यान्वयन र जनताको हितमा काम गर्ने सन्दर्भमा आफू सम्बद्ध दलले दिने जुनसुकै जिम्मेवारी र भूमिकालाई बहन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संविधान निर्माणका क्रममा सबैभन्दा बढी अनुभव र सुझाव छिमेकी मुलुक भारतबाट लिएको बताउँदै उहाँले मुलुकमा लोकतन्त्रका लागि भएको आन्दोलन र संविधान लेखन प्रक्रियालाई सफल तुल्याउन सञ्चारमाध्यमले सकारात्मक र महत्वपूर्ण निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.