छठ पर्वको आज दोस्रो दिन

0

काठमाडौं, ३० कार्तिक । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । यस दिन गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार ब्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् । छठको मूख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात बासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
छठको अवसरमा जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौं पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ । काठमाडौंमा रानीपोखरी, कमलपोखरी, बाग्मती किनारलगायतका स्थानमा छठ मनाइन्छ । छठ पर्वका लागि विभिन्न प्रसाद सामग्री खरिद गर्न तराईका बजारमा भीड लागेको छ । खासगरी छठमा अनिवार्य रुपमा चढाइने केरा, नरिवल र ऊखु किन्नका लागि पसलहरुमा ग्राहकको भीड देखिन्छ ।

Leave A Reply

Your email address will not be published.