आज महाशिवरात्रि मनाइँदै

0

काठमाडौँ \ हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि बुधबार (आज) धुमधामका साथ देशभरि मनाइँदै छ । भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पर्वका रूपमा विभिन्न पुराणमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यो दिन भक्तजन रातभर जागा रहेर भगवान् शिवको आराधना गर्दै भजन गाउँछन् । महिलाका लागि शिवरात्रिको विशेष महìव छ । अविवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मङ्गल कामना गर्छन् ।

युवामाझ पनि शिवरात्रिको आफ्नै ‘चार्म’ छ । शिवरात्रि हिउँदको समाप्ति र गर्मीको सुरुवातको सूचक पनि हो । यसको रौनकले गाउँदेखि सहरसम्म, तराईका फाँटदेखि पहाडका उकाली–ओरालीसम्मलाई ढपक्कै छोप्छ । शिवरात्रिको अघिल्लो दिनदेखि पशुपतिनाथ, शिवमन्दिर, शिवालयमा दर्शनार्थीको भिड लाग्ने गर्छ । बदलिँदो समयमा यसले आफ्नो मौलिकता गुमाउँदै गएको गुनासो पनि आउने गरेको छ । मादक पदार्थ, गाँजा, भाङ, धतुरो जस्ता वस्तुका सेवनमा शिवरात्रि केन्द्रित देखिँदै आएको छ । यस पर्वमा हुने विकृति र विसङ्गतिबारे आवाज उठ्ने गरे पनि यी समस्याको  निराकरणका लागि यथेष्ट पहल हुन सकेको छैन । यस वर्ष महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ गठन भई सो मूलसमिति अन्तर्गत नौ वटा विभिन्न विषयगत समिति गठन भएको पशुपति विकास कोषले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.