काठमाडौँ \ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रलाई बलियो र प्रेस जगत्लाई थप विश्वसनीय बनाउन सामाजिक सञ्जाल विधेयक ल्याइएको बताउनुभएको छ । उहाँले प्रेस स्वतन्त्रताको मूलभूत मान्यता, सिद्धान्त र नीतिमा टेकेर सामाजिक सञ्जाल विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।
त्यसै गरी जनताको सूचनाको हकलाई कुण्ठित हुन नदिन तथा सूचनाको हकलाई कसरी प्रत्याभूत गर्न सकिन्छ भन्ने विषयलाई ध्यान दिएर यो विधेयक ल्याइएको मन्त्री गुरुङको भनाइ थियो । मन्त्री गुरुङले शुव्रmबार मन्त्रालयमा माघ १५ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै त्यस्तो बताउनुभएको हो ।
लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका मूलभूत सिद्धान्तलाई अझ प्रभावकारी बनाउन यो विधेयक ल्याइएको भन्दै उहाँले यो विधेयक अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा ल्याइयो भन्ने कुरा सोहै्रआना झुटो रहेको जिकिर गर्नुभयो ।
प्रिन्ट मिडिया र प्रोफेसनल मिडियाको एक खालको नियमन छँदै छ, उनीहरू मर्यादित ढङ्गले काम गरेको देखिन्छ तर अनलाइन मिडियालाई व्यवस्थापन गर्ने, नियमन गर्ने मुलुकमा कानुन छैन, त्यसैले यिनीहरूको नियमन गर्ने जरुरी रहेको बताउनुभयो ।
उहाँले लोकतन्त्र भनेको अराजकतन्त्र र मनपरीतन्त्र नरहेको तथा ‘फेक न्युज’ दिनु भनेको अभिव्यक्ति स्वतन्त्रता नरहेको स्पष्ट पार्नुभयो । अभिव्यक्ति स्वतन्त्रताको पनि सिमाना र मर्यादा रहेको उहाँको भनाइ थियो ।“मुलुकको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको मुद्दा तथा राष्ट्रिय एकतामा आँच आउने खालका ‘फेक न्युज’ ल्याउने काम भइरहेको छ, मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयत्न भइरहेको छ । यसले समाजलाई अराजक बनाउँदै गयो, त्यसकारण यसको नियमन जरुरी छ,” उहाँले भन्नुभयो, “हामीले नियमन मात्र गर्न खोजको हो, ‘कन्ट्रोल’ गर्न खोजेको होइन । व्यवस्थित गर्न मात्र खोजको हो, बन्द गर्न खोजिएको बुझ्नुभएन ।”