पेरिस घटनामा मर्नेको संख्या डेढ सय नाघ्यो

0

पेरिस, २८ कार्तिक । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति भएका शृंखलाबद्ध आतङ्कवादी हमला गर्दा त्यसमा परी डेढ सयजना बढीको ज्यान गएको छ । उक्त हमलामा परी मारिनेको सङ्ख्या १४० भन्दा बढी भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फ्रान्सेली समाचार समिति, एएफपीले भने सो हमलामा परी मारिने व्यक्तिको सङ्ख्या डेढ सय जनाएको छ ।
हमलाकारीहरुले शुक्रबार राति राजधानी पेरिसका विभिन्न सात स्थानमा बन्दुक र बमबाट हमला गरेका थिए । बन्दुकधारीहरुले अन्दाधुन्ध गोली प्रहार गरेका थिए । साथै कतिपय स्थानमा उनीहरुले बम विस्फोट पनि गराएका थिए । बम हमलाकारी आत्मघाती भएको पनि खुलेको छ । आत्मघाती बम हमलाकारी सबैजसो मारिएका प्रहरीले जनाएको छ ।
फ्रान्सको पेरिसमा यसवर्ष नै दुई पटकसम्म यस्तो आतङ्ककारी हमला भएको छ । गएको जनवरी महिनामा पनि पेरिसमा भएको हमलामा पत्रकारहरुसहित दर्जनभन्दा बढी मानिस मारिएका थिए । सात स्थानमा एकै पटक यी हमलाहरु भएका बताइएको छ । ती मध्येको एक शक्तिशाली हमला बाटाक्लान क्षेत्रमा रहेको एक नाट्यशालामा भएको थियो ।
सो नाटकघरमा एक अमेरिकी ब्याण्डले गीत संगीत प्रस्तुत गरिरहेको थियो । त्यस क्रममा आतंककारी हमला भएको थियो । सो कार्यक्रमस्थलमा मात्र करिब १०० जना मारिएका थिए । त्यहाँ आतङ्ककारीहरुले बन्दुकले अन्दाधुन्ध गोली चलाएका थिए । सयौँ व्यक्ति खचाखच रहेको हलमा कार्यक्रम हेरिरहेको बेला सो हमला भएको बताइएको छ ।
त्यस नजिकैको राष्ट्रिय रंगशाला, स्टेट डि फ्रान्समा भएको थियो । सो रंगशालामा फ्रान्स र जर्मनीबीचको मैत्रीपूर्ण फुटबल भइरहेको थियो । सो फुटबल खेल रातिको करिब ९ बजेतिर भएको थियो । सो खेलकुद म्याचमा फ्रान्सेली राष्ट्रपति फाँसा अल्याण्ड पनि उपस्थित थिए ।
राष्ट्रपति नै उपस्थित सो समारोहमा अकस्मात विस्फोट हुन थालेपछि ठूलो आतंक मच्चिएको थियो । उनलाई प्रहरीले बल्ल तल्ल सुरक्षास्थतर्फ पुराएको थियो । आक्रमणपछि सो रंगशालालाई प्रहरीको हेलिकोप्टरले घेरा हालेको थियो । सुरक्षा अवस्था तत्कालै कडा पारिएको थियो । सो रंगशालामा पनि मानिस हताहती भएको बताइएको थियो । त्यसैगरी अन्य छ वटा क्षेत्रमा भएका हमलामा परी ती मानिस मारिएको बताइएको छ ।
सङ्कटकालको घोषणा, फ्रान्सका सबैतिरका सीमानाका बन्द
यसैबीच सो आक्रमणपछि फ्रान्समा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । राष्ट्रपति ओल्याण्डले सो अवस्थाको घोषणा गरेका हुन् । उनले राष्ट्रिय रुपमा संकटकाल घोषणा गर्दै आतङ्कवादका विरुद्धमा एक भएर लड्न सबै देशवासीलाई आग्रह पनि गरेका छन् ।
उनले अकल्पनीय यस दुर्घटनाका विरुद्धमा सबै जनालाई धैर्यताका साथ बस्न आग्रह गर्नुभयो । साथै सरकारले समग्र पेरिसबासीलाई घर बाहिर ननिस्किन र घरभित्रै बस्न आग्रह पनि गरेको छ ।
प्रहरीले आक्रमणकारीहरुमध्ये कम्तीमा पनि छ जना कारबाहीका क्रममा मारिएको जनाएका छन् । पेरिसमा सेना परिचालन गरिएको छ । सेना र प्रहरीले संयुक्त रुपमा आतङ्ककारीको खोजीलाई सशक्त बनाएको बताएका छन् । उनीहरुकाअनुसार आक्रमणकारी भागेर कतै जान नपाउन भनेर सबैतिर सीमानाकाहरु बन्द गरिएका छन् ।
विश्वले गर्यो निन्दा
उक्त आक्रमणको विश्वले नै निन्दा गरेको छ । विश्वका नेताहरुले यस अवस्थामा फ्रान्सलाई परेको दुःखमा साथ दिन जस्तोसुकै सहयोगको आवश्यक परेपनि पछि नपर्ने जनाएका छन् । उनीहरुले फ्रान्समा भइरहेको पटक पटकको आतङ्कवादी हमला पेरिसमा मात्र केन्द्रित नभएर विश्वमा नै फैलिनसक्ने भन्दै यसका विरुद्ध एक भएर लड्ने पनि बताएका छन् ।
संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, नेदरल्याण्ड, चीन, अष्ट्रेलिया लगायतका विश्वका देशले सो आतङ्कवादी हमलाको निन्दा र भत्र्सना पनि गरेका छन् । हालसम्म कुनै पनि आतंककारी संगठनले नरसंहारको जिम्मेवारी लिएको छैन तर पनि सो घटनालाई आतंककारी संगठन आइएसले समर्थन गर्दै सामाजिक सञ्जालमा आक्रमणको प्रंशसा गरेको जनाइएको छ ।
हमला पेरिसको स्थानिय समयअनुसार रातको करिब ९ बजे भएको थियो । प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार दुई ठाउँमा गोलीबारी र एक गाउँमा विष्फोट भएको थियो ।

Leave A Reply

Your email address will not be published.