काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओली सोमबार औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दै हुनुहुन्छ । चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चार दिनको भ्रमणका लागि चीन प्रस्थान गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीको नयाँ कार्यकालमा यो उहाँको पहिलो औपचारिक चीन भ्रमण हो ।
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गर्नुहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भ्रमण सफलताको शुभकामना
प्रधानमन्त्रीको चीन भ्रमणअघि बसेको मन्त्रीपरिषद् बैठकले चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गरेको छ । बैठकले चीनले बनाउने दुई करोड डलर (करिब दुई अर्ब ७० करोड रुपियाँ) बराबरका अनुदानका आयोजना स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।