भाइटीका लगाएसँगै सकियो तिहार

0

काठमाडौँ \  प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आइतबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो। आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो।

भाइटीका लगाउन आइतबार दिनभर बाधा नभए पनि साइत खोज्नेका लागि भने समितिले मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यताअनुसार बिहान ११ः३७ बजे नै टीका लगाएको जनाइएको छ।

आज लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिएका छन्।

Leave A Reply

Your email address will not be published.