बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका रास्वपाका एक सांसदसहित १७ जना पक्राउ

0

काठमाण्डौको बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसदसहित १७ जना पक्राउ परेका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउ गर्दै आएको रास्वपाले आज काठमाण्डौमा र्‍यालीसहित प्रदर्शन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारतर्फ गइरहेको रास्वपाको र्‍यालीलाई नेपाल प्रहरीले नेपाल हाउसअघि तितरबितर पारेको हो ।

प्रदर्शनका क्रममा बालुवाटारबाटै पार्टीका सांसद अशोककुमार चौधरी, काठमाण्डाै जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य निकालेर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दा प्रहरीले दमन गरेको भन्दै सरकारको भर्त्सना गर्नुभएको छ । प्रदर्शनपछि सभामा सुमना श्रेष्ठ, सन्तोष परियार, डीपी अर्याल, स्वर्णिम वाग्लेलगायतले सम्बोधन गर्ने तालिका रहेको थियो ।

पक्राउ परेका लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.