बिपी कोइराला स्मृति कप : भारतको लाइफ केयरलाई उपाधि

0

रुपन्देही \  बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भारतको लाइफ केयर क्रिकेट क्लबले जितेको छ।

रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ रङ्गशालामा शनिबार भएको फाइनलमा लाइफ केयरले नेपालको नेक्सस रुपन्देही–११ लाई २१ रनले हरायो । जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको नेक्सस रुपन्देहीले २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रन मात्र बनाउन सक्यो ।

नेक्ससका कप्तान कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै बसिर अहमदले २५, शङ्कर रानाले २४, सुमित महर्जनले २० तथा मृनाल गुरुङले १५ रन बनाउनुभयो ।

बलिङमा लाइफ केयरका सक्षम शर्माले तीन विकेट लिनुभयो । जस्मित नैन र कप्तान योगेश कुमारले दुई दुई तथा रोहित दांगवाल, शुभम लाम्बा, क्षितिज त्रिपाठीले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको लाइफ केयरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । लाइफ केयरको लागि शुभम लाम्बाले सर्वाधिक ३९ रन बनाउनुभयो। यस्तै दीपक पुनियाले ३८, एकांश दोबलले २५, दिपांशु फोरेले २४, राजेश शर्माले १७ तथा विपुल कम्बोजले अविजित १० रन बनाउनुभयो ।

बलिङमा नेक्सस रुपन्देहीका दिपेश कँडेलले दुई विकेट लिनुभयो । शाहब आलम, बसिर अहमद, दिनेश अधिकारी र कृष्ण कार्कीले एक एक विकेट लिनुभयो । उपाधि सहित लाइफ केयर क्रिकेट क्लबले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेता नेक्सस रुपन्देहीले तीन लाख रुपियाँ प्राप्त गरेको छ ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी लाइफ केयर क्रिकेट क्लबका दीपक पुनिया घोषित हुनुभयो । उहाँले ३५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । उत्कृष्ट बलर नेक्सस रुपन्देहीका शाहब आलम र उत्कृष्ट ब्याटर लाइफ केयरका दीपक पुनिया घोषित हुनुभयो ।

उत्कृष्ट बलर र ब्याटरले जनही २० हजार रुपियाँ पाउनुभयो । फाइनल खेलको प्लेयर अफ दि म्याच शुभम लाम्बा घोषित हुनुभयो ।

Leave A Reply

Your email address will not be published.