काठमाडौँ \ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले काठमाडौँमा सरकारविरुद्ध गरिरहेको विरोध प्रदर्शनका कारण सडक यातायात प्रभावित भएको छ । प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहअगाडिको सडकमा मञ्च बनाएका कारण सो बाटोमा सवारी निषेध गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीले जानकारी दिए ।
यस्तै सुनधारा, रत्नपार्क, बागबजार, पुतली सडक क्षेत्रमा पनि सडक जुलुसका कारण यातायात प्रभावित भएको छ । जुलुस रहँदासम्म यी सडकमा यातायात अवरुद्ध हुने कार्कीले बताए ।
काठमाडौँमा अन्य स्थानमा भने सवारी आवागमनमा कुनै प्रभाव नपर्ने उनले बताए । शनिवार काठमाडौँमा माओवादी केन्द्रले सरकारको कामकारबाहीका विरुद्ध विरोध प्रदर्शन गर्दै छ । विरोध प्रदर्शनमा ३० हजार हाराहारी कार्यकर्ता सहभागी हुने माओवादी केन्द्रले दाबी गरेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलको सभापति रवि लामिछानेलाई सरकारले फसाएको भन्दै थुनामुक्त माग गर्दै टीयू गेट तीनकुनेमा विरोध प्रदर्शन गर्दै छ ।
उता राजावादी समूह शाही युवा शक्तिले पूर्वाराजा ज्ञानेन्द्रको पुर्नवहालीको माग गर्दै गोगंवु बसपार्कदेखि नारायणहिटीसम्म विरोध प्रदर्शन गर्दै छ ।