आज लक्ष्मी पूजा

0

काठमाडौं, कार्तिक २५ । यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा, आराधना गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् । लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ ।
लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ । साँझ किशोर–किशोरीले समूह बनाई घरघरमा भैलो खेल्छन् । यसरी भैलो माग्दै हिंड्ने समूहलाई धान, चामल, पैसा र नैवेद्य दिने चलन छ ।
यमपञ्चकको चौथो दिन भोलि बिहान गोबद्र्धन र गाईपूजा गर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । लक्ष्मी पूजा आज भएपनि गाईपूजा भने भोलि गर्ने समितिले जनाएको हो । दाजुभाई र दिदीबहिनीबीचको पवित्र सम्बन्धको सांस्कृतिक चाड भएकाले पनि तिहारको महत्व अरु बढेको छ । पाँचौ तथा अन्तिम दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई पूजा गरी भाइटीका मनाउँछन् ।

Leave A Reply

Your email address will not be published.