बीपी राजमार्ग, कान्ति लोकपथ र जयपृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध

0

अघिल्लो हप्ताको बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै राजमार्ग सञ्चालनमा आए पनि बीपी राजमार्ग र कान्ति लोकपथ अझै खुलेको छैन । हिजोदेखि बझाङको जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । छबिसपाथिभेराको बालुबाटारमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडक र रामेछापको मन्थली–खुर्कोट सडक पनि पूर्ण रुपमा अवरुद्ध छ । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । हेटौँडा–भीमफेदी–काठमाण्डौ सडक हिजोदेखि सञ्चालनमा आएको छ ।

अब हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि– काठमाण्डौ सडक सञ्चालनमा आएको छ । तर काठमाण्डौ–हेटौँडा जोड्ने अर्को सडक कान्ति राजपथ भने खुलाउन भने अझै केही दिन लाग्ने भएको छ ।

काठमाण्डौको जीवन रेखा अर्थात लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ भने यसअघि नै सञ्चालनमा आइसकेका छन् । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने सबैभन्दा व्यस्तमध्येको बीपी राजमार्ग खुलाउन भने अझै समस्या भएको छ ।

बीपी राजमार्गको रोशी खोलादेखि पूर्व–दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । त्यसकारण त्यहाँ तत्काल यातायात सञ्चालन गर्न नसकिने सडक विभागले जनाएको छ । बाढीले बगाएको बाटो बनाउन नसक्दा पूर्व जाने यात्रुले वैकल्पिक बाटो खोज्न थालेका छन् । बीपी राजमार्गको सबभन्दा ठूलो विकल्पको रुपमा काठमाण्डौ–हेटौँडा जोड्ने सडक बनेका छन् ।

Leave A Reply

Your email address will not be published.