बाढीपहिरो प्रभावित पालिकाहरूलाई प्रदेश सरकारले ५ करोड ८० लाख रुपैयाँ दिने

0

बागमती प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित पालिकाहरूलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले गत असोज ११ र १२ गतेको वर्षाका कारण बाढीपहिरोबाट प्रभावित भएका पालिकाहरुलाई तीन वर्गमा विभाजन गरी राहत तथा उद्धार कार्य गर्न रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रकम अभाव रहेकाले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड रुपैयाँ रकम निकासा गरेर सो मध्येबाट ५ करोड ८० लाख रुपैयाँ पालिकाहरुलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले विपद्बाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ १२ वटा स्थानीय तहलाई १५ लाख रुपैयाँ र २६ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ सोझै पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको मन्त्री लामिछानेले बताए ।

त्यस्तै, प्रदेश सरकारले चणिकलाल तामाङलाई एक लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । गत असोज १२ मा नख्खु खोलामा आएको बाढीमा पसेका २ जनाको जीवन रक्षा गरेको भन्दै उनलाई प्रदेश सरकारले सम्मान गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावली अनुसार ३ वटा समितिहरु गठन गरेको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा राजनीतिक समिति, आन्तरिक मालिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वम प्रशासन तथा विधेयक समिति र कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरिएको छ । उक्त समितिहरुमा विभागीय मन्त्रीहरुलाई सदस्य राखिएको छ ।

बैठकले जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको छ । बैठकले नुवाकोटमा कार्यालय स्थापना गर्ने र सो कार्यालयले नुवाकोट र रसुवा हेर्नेगरी कर्मचारी व्यवस्थापन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.