किड पावरको सप्ताहव्यापी अभियानः दुईसय बढी किशोरीलाई आत्मरक्षा तालिम

0

काठमाडौं \ राष्ट्रिय बाल दिवस २०८१ को उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगतको सौजन्यमा उपत्यकाका तीनैवटा जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का दुई सयभन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको थियो । तालिम प्रदान गरिएका विद्यालयहरु क्रमैसँग गान्धीआदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं, श्री सिद्धि मंगल माध्यमिक विद्यालय,महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए । तालिमगत भद्र २५ बाट सुरु भई  शुक्रबार सम्म सञ्चालन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकहरु, सहायक प्रधानाध्यापकहरु,शिक्षकहरु लगायत लक्ष्मी सनराइज बैंकका शाखा प्रमुख विजया पौडेल, फिबी अवाले र किरण महर्जनको समेत तालिममा सहभागीता रहेको थियो । किडपावर नेपालसँगको लक्ष्मी सनराइज बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगतको यो सहकार्यको प्रभावकारीताका आधारमा आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बैंकका प्रमुख शाखाका प्रवन्धक उज्वल घिमिरेले जानकारी दिनुभयो ।

गान्धी आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गयाप्रसाद उपाध्यायले यस्ता सुरक्षा सम्बन्धी ज्ञानवर्दक सिकाईलाई विद्यालय पाठ्यक्रममा समावेश गराए यसको प्रभावकारिता अझ बढ्ने बताउनु भयो । यसैगरी श्री सिद्धि मंगल माध्यमिक विद्यालय ललितपुरका प्रधानाध्यापक मीनबहादुर अछामीले तालिमबाट सिकेका सीपहरु शिक्षकमार्फत अन्य विद्यार्थीहरुलाई सिकाईने बताउनुभयो । उहाँले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी दिनहरुमा समेत तालिम प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस प्रकारको प्रशिक्षण सबैलाई आवश्यक रहेको र विद्यार्थि लगायत शिक्षकहरुलाई समेत दिन सके यसले संरक्षित वातावरणमा पठन पाठनमा सहयोग पुर्याउने कुरा गान्धी आदर्श माध्यमिक विद्यालयकी कक्षा ११ र १२ की संयोजक बन्दना घिमिरेको भनाई रहेको थियो । यस प्रकारका प्रशिक्षणहरु अत्यन्त आवश्यक रहेकाले निरन्तरताका लागि आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबाबु रेग्मीले आग्रह गर्नु भएको थियो ।

तालिमका प्रमुख प्रशिक्षक किडपावर अन्र्तराष्ट्रियका नेपालका लागि निर्देशक अधिवक्ता  सुषमा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्ण प्रसाद खनालले गर्नु भएको थियो भने किडपावर नेपालका प्रतिनिधि सुनिता पोखरेलको समेत उपस्थिति रहेको थियो । सुषमा पोखरेलका अनुसार दिन प्रतिदिन सुरक्षा सम्बन्धी समस्याहरु बढ्दै गइरहेको जटिल अस्थामा सुरक्षा र आत्मरक्षाका सीपहरु सबैलाई अत्यावश्यक रहेको र किडपावर नेपालले देशैभरी यसलाई विस्तार गर्ने बताउनुभयो । प्रशिक्षणका क्रममा सहभागि किशोरीहरुले सुरक्षाका विभिन्न समस्याहरु बताएका थिए भने प्रयोगात्मक सिकाई बढी लाभदायक भएको कुरा जानकारी गराएका थिए ।

Leave A Reply

Your email address will not be published.