कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार हुँदै, शपथ ग्रहणको तयारी

0

विराटनगर \ लामो प्रतीक्षापछि कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आजै बिहान ९ः०० बजेका लागि राखिएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारमा अहिले ३ मन्त्री र १ राज्यमन्त्री पठाउन लागेको जानकारी दिए ।

जसमा सदानन्द मण्डल, भूपेन्द्र राई र खगेनसिं हाङ्मामको नाम फाइनल भएको छ । राज्यमन्त्रीमा भने भूमिप्रसाद राजवंशीका नाम टुङ्गो लागेको छ । मन्त्री बन्न लागेका राई कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहका हुन् भने मण्डल र हाङ्गाम संस्थापन समूहका हुन् । राज्यमन्त्री राजवंशी सिटौला समूहका हुन् ।

कांग्रेसले पाउने ४ मध्ये १ मन्त्री र १ राज्यमन्त्री भने डाक्टर शेखर कोइराला समूहलाई दिने तयारी छ । उक्त समूहबाट नाम नदिएको कारण खाली राखेरै मन्त्रीमण्डल विस्तार हुन लागेको हो । यसअघि नै एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री लिने सहमति भएको थियो ।

कांग्रेसले पाउने भौतिक पूर्वाधार विकास मन्त्रालयमा भूपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा हाङ्गाम र पर्यटन वन तथा वातावरण मन्त्रालयमा मण्डल मन्त्री बन्ने भएका छन् । स्वास्थ्य मन्त्रालयले भने तत्काल मन्त्री नपाउने भएको छ । राज्यमन्त्रीमा नियुक्त हुन लागेका राजवंशी पनि भौतिक पूर्वाधार विकास मन्त्रालयमै जिम्मेवारी पाउने छन् ।

एमालेले भने मुख्यमन्त्री सहित सामाजिक विकास, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय, आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा यसअघि नै मन्त्री पठाइसकेको छ ।

असार १७ गते केन्द्रमा एमाले कांग्रेसको गठबन्धन बनेपछि गत साउन ११ गते सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

Leave A Reply

Your email address will not be published.