पलेशाले ६५ लाख रुपियाँ पुरस्कार पाउने

0

काठमाडौँ \  परेसि पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले नेपाल सरकारबाट ६५ लाख रुपियाँ पुरस्कार पाउनुहुनेछ ।

२१ वर्षीया पलेशाले ओलम्पिकमा कांस्य पदक जिते वापत राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा उल्लेख भएअनुसारको नगद पुरस्कार पाउने पक्का भएको हो ।

राष्ट्रिय खेलकुद विकास नियमावलीमा ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद (साग), विश्व च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीले पाउने पुरस्कार बारे उल्लेख गरिएको छ ।

सोही नियमावलीमा भएको ब्यवस्था अनुसार चीनको होङझावमा गतवर्ष चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जित्नु भएकी पलेशाले १३ लाख रुपियाँ पुरस्कार पाउनुभएको थियो ।

यस्तै नियमावली अनुसार  पलेशाको प्रशिक्षकले पाँच लाख ८५ हजार, व्यवस्थापकले दुई लाख ९२ हजार र सम्बन्धित खेल सङ्घले ११ लाख ७० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा पलेशाले शनिबार के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै कांस्य जित्नुभएको हो । यो ओलम्पिकमा कुनै पनि खेलाडीले जितेको पहिलो ऐतिहासिक पदक हो ।

पलेशाले पहिलो चरणको खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउनुभएको थियो । तर, क्वार्टरफाइनलमा उहाँ ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित हुनुभएको थियो ।

दोस्रो चरणमा पराजित भएपछि रिपाचेजको मौका पाउनुभएकी उहाँले फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले हराउँदै कांस्यको भिडन्त पक्का गर्नुभएको थियो । त्यसपछि उहाँले अन्तिममा सर्वियाकी मारिजालाई स्तब्ध बनाउँदै कांस्य पदक आफ्नो पोल्टामा पार्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.