प्रतिनिधि सभामा सांसदको प्रश्न प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

0

काठमाडौँ \ सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठकमा बिहीबार सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको छ ।

विभिन्न दलका १३ जना सांसदले सोध्नुभएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको हो । प्रधानमन्त्री ओलीले  प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुभएको हो।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद नारायणप्रकाश साउदले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले भारतमा विद्युत् निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबमोजिम ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० तयार पारेको बताउनुभयो ।

प्रधानमन्त्रीले उक्त मार्गचित्र तथा कार्ययोजनामा आर्थिक वर्ष २०९१/९२ सम्म करिब १३ हजार पाँच सय मेगावाट विद्युत् आन्तरिक माग पूर्तिका लागि र करिब १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा निर्यात गरिने उल्लेख रहेको बताउनुभयो ।

साथै सो अवधिसम्म नेपालको कूल विद्युत् उत्पादन क्षमता २८ हजार पाँच सय मेगावाट पुर्‍ याउने लक्ष्य लिइएको र उक्त मार्गचित्र तथा कार्ययोजना मन्त्रिपरिषद्मा पेस भइसकेको उहाँले बताउनुभयो ।

हाल नेपालको कूल विद्युत् उत्पादन क्षमता करिब तीन हजार दुई सय ४० मेगावाट पुगेको र आव २०९०/९१ सम्ममा करिब २६ हजार मेगावाट विद्युत् थप उत्पादन हुने प्रक्षेपण सहितको कार्ययोजना तयार भएको उहाँले जानकारी दिनुभयो ।

कार्ययोजनामा विद्युत् खरिद सम्झौता सम्पन्न भएका आयोजनाबाट पाँच हजार आठ सय ७३ मेगावाट, विद्युत् खरिदको प्रक्रियामा रहेका आयोजनाबाट तीन हजार दुई सय पाँच मेगावाट, कनेक्सन एग्रिमेन्ट सम्पन्न आयोजनाबाट तीन हजार एक सय आठ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण छ ।

त्यसैगरी कनेक्सन एग्रिमेन्टको प्रक्रियामा रहेका आयोजनाबाट पाँच हजार छ सय ४८ मेगावाट तथा नेपाल सरकार एवं सरकारी स्वामित्वका कम्पनीबाट अध्ययन सम्पन्न भएका ठूला प्रकृतिका तथा विद्युत् खरिद सम्झौताको प्रक्रियामा हालसम्म सहभागी नभएका आयोजनाबाट चार हजार चार सय ३१ मेगावाट र भारतीय कम्पनीबाट प्रबद्र्धन भइरहेका आयोजनाबाट तीन हजार छ सय ७९ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

आगामी १० वर्षमा भारतसँग १० हजार मेगावाट विद्युत् व्यापारका लागि आवश्यक उच्च भोल्टेज स्तरका विभिन्न अन्तरदेशीय विद्युत् प्रसारण लाइन विकासका क्रममा रहेको उहाँले बताउनुभयो ।

“ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्षमताको पहिलो नेपाल–भारत अन्तरदेशीय विद्युत् प्रसारण लाइन सन् २०१६ देखि सञ्चालनमा छ । अरुण–३ जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी सतलजजल विद्युत् निगम लिमिटेडबाट निर्माण भइरहेको दुई हजार पाँच सय  मेगावाट विद्युत् प्रसारण क्षमताको ढल्केबर–सितामढी ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन यसै वर्ष सम्पन्न गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले दुई हजार पाँच सय मेगावाट विद्युत् प्रसारण क्षमताको बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन सन् २०२५ सम्म सम्पन्न हुने गरी निर्माण भइरहेको बताउनुभयो ।

त्यसैगरी, दुई पाँच सय मेगावाट विद्युत् प्रसारण क्षमताका थप दुई वटा ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन इनरुवा–पूर्णिया र लम्की–बरेली कार्यान्वयनका चरणमा छन् । यी अन्तरदेशीय विद्युत् प्रसारण लाइन सन् २०२९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी नेपाल र भारतबीच सहमति भएको उहाँको भनाइ छ ।

“नेपाल र भारत अन्तरदेशीय विद्युत् प्रसारण लाइनबाट १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्न नेपालको आन्तरिक विद्युत् प्रसारण प्रणाली पनि सबल र सक्षम हुनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “यसका लागि हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी विद्युत् प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्डको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने हेटौडा–ढल्केबर खण्डको निर्माण कार्य अन्तिम चरणमा छ ।”

त्यसैगरी, लफ्सीफेदी–रातामाटे–न्यू हेटौडा र रातामाटे–न्यू दमौली–न्यू बुटवल ४०० केभी विद्युत् प्रसारण लाइन निर्माण कार्य छिट्टै सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

“यी प्रसारण लाइनका सवस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । साथै, खिम्ती–बाह्रबीसे–काठमाडौं ४०० केभी, मस्र्याङ्दी करिडोर २२० केभी र चिलिमे–त्रिशूली २२० केभी विद्युत् प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी विद्युत् प्रसारण लाइन र देशका प्रमुख लोड केन्द्र भएर जाने साउथ करिडोर विद्युत् प्रसारण लाइनको निर्माण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.