एमालेलाई अब सातवटा मन्त्रालय

0

काठमाडौँ, १४ कात्तिक । सरकारले आइतबार मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय, भौगोलिक सन्तुलन मिलाएर एमाले र अन्य दल समेटी मन्त्रिमण्डिल विस्तार गर्ने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार एमालेले रक्षा, सञ्चार, अर्थ, सङ्घीय मामिला एवं स्थानीय विकास, स्वास्थ्य, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको जिम्मा लिने छ । शासकीय मुख्य पदहरु परिपूर्ति भइसकेकाले अब मन्त्रिमण्डल विस्तार, राष्ट्रिय योजना आयोगलगायत आयोग र समितिहरुको पूर्णता, राजनीतिक नियुक्ति जस्ता कामहरु अघि बढ्ने जानकारी उहाँले दिनुभयो । एमाले केन्द्रीय सदस्य श्रेष्ठले नयाँ संविधानको प्रावधान अनुसार अब रिक्त सांसदमा कुनै मनोनयन नहुने पनि बताउनुभयो ।
“एमालेमा पनि रिक्त उपाध्यक्ष पद तत्काल मनोनयन हुँदैन, त्यसका लागि राष्ट्रिय परिषद् बैठक बस्नुपर्ने हुन्छ, अखिल नेपाल महिला सङ्घका अध्यक्षमा भने कसैले कार्यवाहक पद पाउन सक्छ, त्यस्तै अब नयाँ संविधानअनुसार प्रादेशिक ढाँचा अनुरुप पार्टीको विधान संशोधन गर्नुपर्ने देखिएको छ ।”उहाँले भन्नुभयो । एमालेको हालको मिसन पूरा भएको र अब राजनीतिक समस्या हल गर्न तदारुकताका साथ लाग्ने दृढता उहाँले व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.