पुष्पलाल नेपाली राजनीतिका मूर्धन्य र प्रतिभाशाली नेता : राष्ट्रपति

0

काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठुलो योगदान रहेको बताउनुभएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य, प्रतिभाशाली, इमानदार र स्वप्नशील नेता भएको धारणा राख्नुभयो ।

उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्नुहुँदै भन्नुभयो, ‘‘पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र सङ्कटहरू समाधान हुनसक्छन् भन्ने ठान्नु आफैँमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्त्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्त्वपूर्ण वैचारिक मार्ग प्रशस्त गर्यो । यसका लागि पुष्पलालको ठुलो योगदान छ भन्ने मलाई लाग्छ ।’’

राष्ट्रपति पौडेलले नेता मदन भण्डारीले पुष्पलालको लोकतान्त्रिक प्रक्रियामा रुपान्तरणको त्यही सूत्र समातेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण र समाजका अन्तरविरोधहरूलाई सुविचारित ढङ्गले अभिलेखन गर्न पनि योगदान गर्नुभएको पनि बताउनुभयो । उहाँले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गर्नुभयो ।

राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्तिहरू मिलेर सङ्घर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र बाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना सम्भव भएको उल्लेख गर्नुभयो ।

उहाँले पुष्पलालसँग बनारसमा भेटेको स्मरण गर्नुहुँदै भन्नुभयो, ‘‘पुष्पलाल पञ्चायतका विरुद्धमा सङ्घर्ष गरिरहेका कांग्रेस र कम्युनिष्टका कार्यकर्तालाई समान स्नेह गर्नुहुन्थ्यो । हामी वीपीलाई भेट्न बनारस जाँदा पुष्पलाललाई भेट्न गएका थियौं । आन्दोलनका बारेमा कुराकानी भयो । काठमाडौँमा कोसँग सम्पर्क गर्ने भन्दा हिरण्यलाल श्रेष्ठसँग गर्नु भन्नुभयो । माइला दाइले भनेको है भनेर पनि भन्नुभयो ।’’

उहाँले अग्रज नेताहरूको सङ्घर्ष, त्याग र नेपाली जनताको ठुलो बलिदानबाट आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताउनुभयो । उहाँले नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको छ । हामी त्यही संविधान कार्यान्वयनको चरणमा छौं तर पनि अझै हामीले जनताले अनुभूत गर्नसक्ने गरी यसको व्यावहारिक कार्यान्वयन गर्न नसकिरहेको अवस्था चिन्ताको विषय हो । जनताले अनुभूत हुने गरी लोकतन्त्रको प्रतिफल उनीहरूको घरदैलोसम्म पुर्‍याउनसके मात्र यस्ता नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने हामी नर्बिसौं ।’’

Leave A Reply

Your email address will not be published.