अनुसन्धानकर्ता बन्दै बेचबिखनमा परेका महिला

0

हेटौँडा \ मानव बेचबिखनमा परेका महिलाले आफ्नो अनुसन्धान आफैँले गर्न थालेका छन् । उहाँहरूले साङ्केतिक तस्विरमार्फत बेचबिखनका क्रममा भोगेका पीडालाई व्यक्त गर्नुभएको छ ।

साउथवेस्टेन सेन्टर फर रिसर्च एण्ड पिएचडी स्टडिजको आयोजना एवम् शान्ति फाउण्डेसन र माइती नेपालको समन्वयमा बागमती प्रदेशको राजधानी हेटौँडामा सोमबारबाट सुरु भएको दुई दिने महिलासँगको सहभागितमूलक अनुसन्धान कार्यक्रममा उहाँहरूले आफ्ना भोगाइ राख्नुभएको हो ।

उहाँहरूले तस्विर आवाजका रुपमा बेचबिखनका क्रममा भोगेका पीडालाई कालरात्री, समाजले अस्वीकार गरेका र पीडाले बिछिप्त भएका विषयलाई तस्विरमार्फत साङ्केतिक रुपमा आफ्नो भोगाइ व्यक्त गर्न सिक्नुभएको हो । उहाँहरूले आफ्नो भोगाइका विषयमा सुक्ष्म रुपमा अध्ययन गर्न पनि सिक्नुभएको छ ।

गहभरी आँसु पार्दै सहभागी महिलाले बेचबिखनका क्रममा भोगेका दुःख, पीडा सुनाउँदा मन हलुका भएको भाव व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी हेटौँडा र मनहरीका महिलाले एचआइभी सङ्क्रमितले बनाएका र उत्पादन गरेका सामान समेत बिक्री नहुने गरेकोप्रति गुनासो पोख्दै समाजमा पुनः स्थापित हुन समस्या भएको बताउनुभयो ।

एचआइभी सङ्क्रमित भएकै कारण अस्पतालमा पनि दोस्रो दर्जाको नागरिकलाईजस्तै व्यवहार भोग्नुपरेको उहाँको गुनासो छ । क्यानडाको युनिभर्सिटी अफ फ्रेजर भ्यालीका सहायक प्राध्यापक एवम् अनुसन्धानकर्ता डा. रिता ढुङ्गेलले सामाजिक सांस्कृतिक कारणले मानव बेचबिखन हुनेगरेको बताउनुभयो ।

बेचबिखनमा ९० प्रतिशत महिला पर्ने गरेको जानकारी दिँदै अनुसन्धानकर्ता ढुङ्गेलले अधिकांश कारण गरिबी नै भएको बताउनुभयो । अनुसन्धानका क्रममा बेचबिखनबाट फर्केर आएका महिला पुनः घर, परिवार, समाजबाट पीडित हुनपुगेका उहाँको भनाइ छ ।

७ देखि ३५ बर्ष उमेर समूहका युवती बेचबिखनमा पर्नेगरेको बताउँदै उहाँले बागमती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोक र मकवानपुरसहितका जिल्लामा अझैं पनि मानव बेचबिखन नरोकिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार प्रदेशका उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर तथा भक्तपुर बाहेक १० जिल्लामा तीन बर्षको अवधिमा मानव बेचबिखन तथा ओसार–पसारका ३२ वटा मुद्दा परेका छन् ।

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक बर्ष २०७८–७९ मा ७ र आव २०७९–८० मा १७ र चालु आवको जेठ मसान्तसम्म ८ वटा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि मुद्दा दर्ता भएका छन् ।

Leave A Reply

Your email address will not be published.