बचतकर्ताको आठ अर्ब हिनामिना : आइडियल सहकारीका अध्यक्ष उप्रेती पक्राउ

0

दुई हजार बचतकर्ताको आठ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले आइडियल यमुना सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई पक्राउ गरेको छ । पीडितको उजुरीका आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनलाई बालाजुबाट पक्राउ गरेको हो ।

सहकारी अभियन्तासमेत रहेका उप्रेती एमालेको केन्द्रीय सहकारी विभाग सचिव हुन् । तर, उजुरीपछि पार्टीले उनलाई पदबाट निलम्बन गरेको छ । उनी राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत हुन् । आइडियल यमुनाकै अर्का सञ्चालक कुयाङ लामा भने फरार छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले केबी उप्रेती पक्राउ परेको बताए । उनले भने, ‘केबी उप्रेती पक्राउ परेका छन् । उनलाई प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको हो । महाराजगन्जकै हिरासत कक्षमा राखेर अनुसन्धान सुरु गरिएको छ ।’

सरकारले आइडियल यमुना संकटग्रस्त सहकारी रहेको भन्दै छानबिन गर्नुपर्ने सूचीमा राखेको छ । सूर्य थापा संयोजकत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले यो सहकारीमाथि छानबिन गरिरहेको छ ।

उप्रेती र कुयाङका दुई सहकारी मर्ज गरेर आइडियल यमुना सहकारी बनेको थियो । यो सहकारीको अध्यक्ष उप्रेती थिए भने कुयाङ सचिव थिए । बचत अपचलन गरेका सञ्चालकहरूले बचतकर्ता रकम लिन जाँदा उल्टै मानसिक ‘टर्चर’ दिन्थे । बचतकर्ताहरूका अनुसार प्रहरीमा उजुरी गरे रकम सधैँका लागि डुब्ने भन्दै त्रास देखाउँथे ।

 

Leave A Reply

Your email address will not be published.