पहिलो पटक दक्षिण अफ्रिकालाई हराउने योजना बुन्दै बंगलादेश

0

काठमाडौँ \ आईसीसी टी–२० विश्वकपमा सोमबार दुई टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशबिच भिडन्त हुँदैछ । खेल न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति २०ः १५ बजे सुरु हुनेछ ।

दक्षिण अफ्रिका र बंगलादेश प्रतियोगिताको समूह ‘डी’ मा छन् । नेपाल, श्रीलंका र नेदरल्यान्ड्स पनि यही समूहमा रहेका छन् । यो समूहमा नेपाल र बंगलादेश बाहेक अन्य टोलीले दुई–दुई खेल खेलिसकेका छन् । नेपाल र बङ्गलादेशले भने एक–एक खेल खेलेका छन् ।

यो समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा बङ्गलादेशले श्रीलंकालाई दुई विकेटले हराएको थियो ।
यसैगरी चौथो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको थियो । समूहमा चार अंकसहित दक्षिण अफ्रिका पहिलो र दुई अंकसहित बंगलादेश दोस्रो स्थानमा छन् । दुई अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । नेपाल र श्रीलंकाले भने अंक बटुल्न सकेका छैनन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ र बंगलादेश नवौँ स्थानमा छन् । टी–२० विश्वकपमा यी दुवै टोलीले नवौँपटक सहभागिता जनाउन लागेका हुन् । सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै यी दुवै टोलीले नियमित रूपमा टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको उत्कृष्ट प्रदर्शन सेमिफाइनलको यात्रा हो ।

दक्षिण अफ्रिका सन् २००९ र सन् २०१४ मा टी–२० विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । बंगलादेश भने एकपटक प्रतियोगिताको सुपर–८ चरणसम्म पुगेको छ । बंगलादेशी टोली सन् २००७ मा सुपर–८ चरणमा प्रवेश गरेको थियो । दक्षिण अफ्रिकाले हालसम्म टी–२० विश्वकपमा कुल ४२ खेल खेलिसकेको छ । दक्षिण अफ्रिका त्यसमध्ये २६ खेलमा विजयी र १५ खेलमा पराजित भएको छ । दक्षिण अफ्रिकाको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

यसैगरी बङ्गलादेशले हालसम्म टी–२० विश्वकपमा कुल ३९ खेल खेलेको छ । बंगलादेशी टोलीले त्यसमध्ये १० खेलमा जित हात पारेको छ भने २८ खेलमा पराजय ब्यहोरेको छ । बंगलादेशको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । टी–२० विश्वकपमा हालसम्म बङ्गलादेशले दक्षिण अफ्रिकालाई हराउन सकेको छैन । यी दुई टोलीबिच हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा कुल आठ खेल खेलिएको छ । त्यसमध्ये आठवटै खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।

यसैगरी टी–२० विश्वकपमा हालसम्म यी दुई टोलीबिच कुल तीन खेल खेलिएको छ । त्यसमध्ये तीनवटै खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराएको छ । यी दुवै टोली सोमबारको खेलमा एक–अर्कालाई हराउँदै सुपर–८ चरणमा पुग्ने सम्भावना बलियो बनाउने धुनमा छन् ।

बंगलादेश र दक्षिण अफ्रिकाबिच सोमबारको खेल हुने न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको पिच अहिलेसम्म सबैका लागि टाउको दुःखाइको विषय बन्दै आएको छ । यो स्टेडियमको पिच खासगरी ब्याट्सम्यानका लागि दुर्भाग्य साबित हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.