‘हिमालको मुद्दामा नेपालले नेतृत्व लिनुपर्छ’

0

काठमाडौ \ जलवायु परिवर्तन र बढ्दो तापक्रमले नेपालको हिमाली क्षेत्र जोखिममा परिरहेका बेला विषय मिल्ने मुलुकसँग साझा एजेण्डा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

हिमाल र जलवायु परिवर्तन असरबारे मुद्दाको नेतृत्व नेपालले लिन सक्ने अवसर पनि रहेको विज्ञ, अनुसन्धानकर्ताहरुको सुझाव छ । लामो समय जलवायु परिवर्तन र वायु प्रदुषणका क्षेत्रमा काम गर्नुभएका डा. महेश्वर रुपाखेतीका अनुसार नेपालले आफूजस्तै समस्या भएका मुलुकसँगको सहकार्यमा एजेण्डा तय गरेर अन्तर्राष्ट्रिय मञ्चमा लबिङ गर्न सकेमा हिमालको मुद्दा बलियो हुनेछ ।

डा. रुपाखेतीले भन्नुभयो, ‘‘हिमालको हिउँ नेपालको मात्र होइन, यो विश्वको सम्पत्ती हो । यसले विश्वको एकतिहाइ जनसंख्यालाई स्वच्छ पानी आपूर्ति गरिरहेको छ । हिमालबाट बाढी, पहिरो गयो भने टापु देशहरु डुब्ने डर छ । त्यसैले यसलाई विश्वको साझा चुनौती र अवसरको विषय बनाइनुपर्छ ।’’

यूनाइटेड नेशन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेञ्ज (यूएनएफसिसिसि) सचिवालयमा कार्यरत जलवायु परिवर्तन विज्ञ रोजिना मानन्धरको भनाइमा हिमालको मुद्दा नेपालको मात्र होइन, अरु हिमाली र तल्लो तटीय क्षेत्रका टापु मुलुकको पनि उत्तिकै समस्या हो ।

उहाँले भन्नुभयो, ‘‘हिमालमा भएको बाढी, पहिरोले तल्लो तटीय क्षेत्रका टापु मुलुकलाई पनि उत्तिकै असर पार्ने भएकाले हिमालको मुद्दा पर्वतदेखि महासागरसम्मका हामी सबैको हो भन्ने न्यारेटिभ चेञ्ज गर्नुपर्छ । त्यसको लिड नेपालले लिन सक्ने सम्भावना छ, लिन सक्नुपर्छ ।’’

अर्का जलवायु परिवर्तन विज्ञ डा. भाष्करसिंह कार्कीको भनाइ पनि प्रधानसँग मिल्दोजुल्दो छ । डा. कार्कीले भन्नुभयो, ‘‘सामुन्द्रिक मुलुक र पर्वतीय क्षेत्रका दुबै मुलुक जलवायु परिवर्तनको असरले निकै पीडित छन् । सामुन्द्रिक मुलुक जसरी संगठित भएर आफ्ना एजेण्डा राख्न सक्ने भएका छन्, त्यसैगरी पर्वतीय मुलुकहरु पनि एकजुट भएर साझा अवधारणा बनाइ बलियो ढङ्गले प्रस्तुत हुन सक्नुपर्छ ।’’

पर्वतीय मुलुकको एजेण्डाका नेतृत्व लिन सक्ने अवसर नेपाललाई भएको धारणा डा. कार्कीले राख्नुभयो । उहाँले भन्नुभयो, ‘‘संसारको तेस्रो ध्रुब सगरमाथा नेपालमै छ । अधिकांश ठुला हिमाल नेपालमा भएकाले हिमालको मुद्दा उठाउने हकदार नेपाल पनि भएकाले यसको नेतृत्व नेपाललले लिने कोशिस गर्नुपर्छ ।’’

Leave A Reply

Your email address will not be published.