जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको तयारी, हिमाल जोगाउन पहल गरिने

0

काठमाडौँ \ नेपाल सरकारले आयोजना गर्न लागेको हिमाल, मानिस र जलवायु विषयक जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रका अध्यक्षसहित २३ देशका ६१ विदेशी विज्ञ तथा पाहुना सहभागी हुनुहुने भएको छ ।

सरकारका तर्फबाट वन तथा वातावरण मन्त्रालयले सोमबार काठमाडौँमा आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रियामा सो अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको तयारीबारे जानकारी दिँदै विदेशी विज्ञहरूले नेपालको वास्तविकतालाई नजिकबाट नियालेर भविष्यमा हुने कोप–२९ तथा अन्य वैश्विक मञ्चमा हिमाल जोगाउन पहल गरिने जानकारी दिएको छ । सो अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

विश्वव्यापी तापक्रम वृद्धिसँगै भइरहेको जलवायु परिवर्तनको असर नेपालको हिमालमा अत्यधिक परेको र त्यसको अर्को असर टापु राष्ट्रमा समेत बढ्दै गएको विषयलाई वैश्विक मञ्चमा नेपालमा विकासित मुलुकको ध्यानाकर्षण गराउने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना हुन लागेको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले बताउनुभयो ।

प्रधानमन्त्रीका वातावरण सल्लाहकार पपुलर जेन्टलले कोप–२८ मा नेपालले नेतृत्व गरेको हिमाल, पर्वतीय मुलुक र टापु राष्ट्रको बहसलाई निरन्तरता दिँदै नेपालमा पनि यो सम्मेलनको आयोजना गरिएको स्पष्ट पार्नुभयो । हिमालबारे स्थानीय र विज्ञको बुझाइको मन्थन सम्मेलनमा हुने र भविष्यमा विश्वव्यापी मञ्चमा नेपाल नेतृत्वदायी भूमिका रहन सघाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

विकसित मुलुकले गरेको उच्च कार्बन उत्सर्जनको परिणामस्वरूप नेपालका हिमालमा हिमस्खलन बढेको छ । हिउँ पग्लेर बगेको पानी समुद्रमा पुग्दा त्यसको सतह बढेर बङ्गलादेश, माल्दिभ्सलगायतका टापु राष्ट्रहरूको अस्तित्व सङ्कटमा पर्दै गएको सम्मेलनका संयोजक डा. महेश्वर ढकालले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.