इलाममा ५७ प्रतिशत मात्र खस्यो मत, मतगणना रातीदेखी 

0
इलाम \  इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । मत खसाल्न आएका मतदाताका अनुसार पहिलाका मतदान जस्तो अहिलेको मतदानमा मतदाताको संख्या धेरै कम भएको प्रतिक्रिया दिएका थिए ।
५ बजेसम्म मतदान गर्न नपाएकाहरू ‘पोलिङ एरिया’ भित्र रहेर मतदान गर्नसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साँझ ५ बजेसम्म ५७ प्रतिशत मतदान भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदानको समय सकिएसँगै मतपेटिका संकलनका लागि लाहाछाप लगाउने काम भइरहेको छ । मतपेटिका सोझै इलाम नगरपालिका ७ मा रहेको गौतम बुद्ध सम्मेलन केन्द्रमा लगिनेछ ।
एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार भन्दा बढी मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
त्यस्तै,  निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ । गौतमबुद्ध सभा भवनमा मतगणना स्थललाई व्यवस्थित गएिको छ । गणना स्थललाई सुरक्षित राख्न तारबार लगाइएको छ । मतपेटिका भण्डारणका लागि सभाहलको भित्रि भाग तयार गरिएको छ । सभाहलको बाहिरपट्टि तारबार र त्यस बाहिर दल तथा उम्मेद्वारका प्रतिनिधि बस्ने स्थान तयार गरिएको छ ।
यस्तै, गणनास्थल, मतपेटिका भण्डारण कक्ष र सभा भवनको बाहिरपट्टि गरी ११ वटा सिसि क्यामेर जडान गरिएको मतगणना स्थलमा खटिनु भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इन्द्र श्रेष्ठले बताउनुभयो । ‘कम्तिमा ११ बजे सम्ममा सबै केन्द्रका मतपेटिका संकलन भइसक्ने अनुमान छ । त्यसपछि राजनीतिक दलहरुसँग बैठक बसेर आजै रातिबाट मतगणना सुरु हुन्छ’ उहाँले भन्नुभयो ।
Leave A Reply

Your email address will not be published.