कक्षा १२ को परीक्षा दिँदै वडाध्यक्ष

0
मकवानपुर \ मकवानपुरका एक वडाध्यक्षले कक्षा १२ को परीक्षा दिनुभएको छ ।  शुक्रबारबाट सुरु भएको परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिनुभएको हो । “पढ्नलाई उमेरले छेक्दैन, इच्छाशक्ति चाहिन्छ ।”  भन्दै पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष शिवप्रसाद खनालले कक्षा १२ को परीक्षा दिनुभएको हो । उमेरले ५० वर्ष पूरा हुनु भएका खनालले हेटौँडा ११ स्थित निर्मल बहुमुखी क्याम्पस बस्तीपुरबाट परीक्षा दिनुभएको हो । उहाँ विद्यालय पोशाक लगाएर शुक्रबार बिहानै परीक्षाका लागि परीक्षा केन्द्रमा पुग्नुभएको थियो ।
शुक्रबार दिइएको अंग्रेजी परीक्षा अत्यन्तै राम्रो भएको बताउँदै राजनीतिक तथा सामाजिक काम गर्दां शिक्षाको अति नै महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले अब पढाइलाई निरन्तरता दिने बताउनुभयो । मेरो दुई छोरा, श्रीमती र आमाको साथमा बस्छु, परिवारको साथ सहयोगले नै मैले पढाई तर्फ लागेको हुँः वडाध्यक्ष खनालले भन्नुभयो । जेठो छोरा सिभिल ईन्जिनियर छ र कान्छो छोरा विएस्सी सकेर बसेको छ ।
वडाअध्यक्ष एवम् आफु अध्ययन गर्ने विद्यालय बाल जीवन ज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका खनालले शिक्षा अति नै महत्वपूर्ण रहेको र शिक्षाले नै सबै ढोका खोल्ने आफूले महसुस गरेको बताउनुभयो  ।
२०५६ सालमा एसएलसी पास गर्नुभएका खनालले पढ्ने चाहना र इच्छा हुँदाहुँदै घरको परिस्थितिले गर्दा पढाइलाई निरन्तरता दिन नसकेर पढाइलाई बीचमै छाड्नु भएको थियो । उहाँ अध्ययन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुनुहुन्छ । उहाँले अध्यक्ष भएपछि सो विद्यालयमा ११ र १२ कक्षा सञ्चालन गर्नुभएको थियो । ०७८ सालमा  कक्षा ११ भर्ना भएँ, ११ पास पनि गरेँ, राम्रो सँग पढेर १२ पास पनि गर्छु उहाँले भन्नुभयो ।
दोस्रो पटक पनि वडा अध्यक्षमा निर्वाचित खनाल नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन् । राजनीतिक सँगै सामाजिक कार्यमा समेत क्रियाशील रहनुभएका खनाल मनहरीमा रुचाइएका जनप्रतिनिधि मध्य एक हो ।
Leave A Reply

Your email address will not be published.