बागमती प्रदेश : कांग्रेसका ६ मन्त्रीले राजीनामा दिँदै

0

मकवानपुर \ केन्द्रमा सत्ता समीकरण परिवर्तन भयसँगै बागमती प्रदेशमा पनि त्यसको असर परेको छ । बागमती प्रदेश सरकारमा रहेको नेपाली कांग्रेस बाहिरिने निश्चित भएको छ । केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिने तयारी भएको हो । सोही अनुसार बुधबार कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले सामूहिक राजीनामाको तयारी गरिएको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार  बागमतीमा बुधबार सरकार छाड्ने तयारी भएको हो । सोही अनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको उनले बताए । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री समेत रहेका चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने बताए ।

संसदीय दलका नेता विदेश भ्रमणमा रहेकाले सो विषयमा निर्णय लिन केही दिन ढिला भएको उनको भनाई छ । सरकारको विषयमा पार्टी नेतृत्व र दलका नेता तथा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसंग सम्वाद पछि राजीनामाको निर्णयमा पुगेको उनले बताए । बुधबार बिहान मात्र मन्त्री चित्रकार र मुख्यमन्त्री जम्कट्टेल बिच सरकार छाड्ने विषयमा छलफल भएको थियो ।

सो छलफल पछि हेटौँडामा कांग्रेसका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी भएको उनले बताए । सोही अनुसार प्रदेश राजधानी भन्दा बाहिर रहेका मन्त्रीहरुलाई हेटौँडा आउन निर्देशन दिइएको छ भने सत्ता समीकरण पछि काठमाडौँ पुगेका मन्त्री चित्रकार पनि हेटौँडा फर्किँदै छन् । काठमाडौँ रहेका मुख्यमन्त्री जम्कट्टेल पनि आजै हेटौँडा फर्किने तयारी रहेको छ ।
यता विदेश भ्रमणमा रहेका नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा पनि आजै नेपाल फर्किँदै छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका उनी बिहान ९ बजेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने र त्यहाँबाट सोझै हेटौँडा आएर राजीनामा दिने तयारी रहेको छ । उनीसँगै प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा पनि स्वदेश फिर्ता हुँदै छन् ।

बागमती प्रदेश सरकारमा कांग्रेसका ६ जना मन्त्री रहेका छन् । नेता लामाको नेतृत्वमा चित्रकार, तीर्थसहित स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन रहेका छन् ।

Leave A Reply

Your email address will not be published.