एमालेद्वारा विद्या भण्डारी राष्ट्रपतिमा प्रस्तावित

0

काठमाडौं, २७ असोज । सत्ता साझेदार नेकपा एमाले र एमाओवादी तथा नेपाली कांग्रेस तीनै दलले भाबी राष्ट्रपतिमा आआफ्नो दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीको चयनपछि नयाँ राष्ट्रपतिमा दलहरूको ध्यान केन्द्रित भएका बेला एमाले र एमाओवादीले राष्ट्रपतिमा आआफ्नो दाबी पेस गरेका हुन् भने कांग्रेसले पनि अनौपचारिक रूपमा एमाले र एमाओवादीसँग राष्ट्रपति आफ्नो दललाई दिएर सहमतिको राजनीति अघि बढाउन आग्रह गर्न थालेको छ।
‘प्रधानमन्त्री एमालेको भएपछि स्वाभाविक रूपमा राष्ट्रपतिमा एमाओवादीको दाबी हुन्छ। कांग्रेसका दोस्रो तहका नेताहरूले पनि राष्ट्रपति आफ्नो दललाई दिएर सहमतिको राजनीति अगाडि बढाउन आग्रह गर्न थालेका छन्। प्रधानमन्त्री निर्वाचनपछि तीन दलकै ध्यान अब राष्ट्रपतिमा केन्द्रित हुन थालेको छ’, कृषिमन्त्रीसमेत रहेका एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले भने।
कांग्रेसका दोस्रो तहका नेताहरूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसमक्ष राष्ट्रपति आफ्ना दललाई दिएमा ‘सबैलाई मान्य हुने पात्र अगाडि सार्ने’ प्रस्ताव ल्याएका छन्। कांग्रेस, एमाले र एमाओवादीबीच १६ बुँदे सहमति हुँदा कांग्रेस सभापति सुशील कोइराला नेतृत्वमा संविधानसभाबाट संविधान जारी गर्ने, संविधान घोषणा भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने, नयाँ राष्ट्रपति कांग्रेसलाई दिने र सभामुख एमाओवादीले दिने भद्र सहमति भएको थियो।
संविधान संशोधनसहित ऐनकानुन संशोधन गर्न कांग्रेस, एमाले र एमाओवादीबीच समझदारी हुनुपर्ने कारण देखाउँदै कांग्रेसका दोस्रो तहका नेताहरूले राष्ट्रपति आफ्नो पार्टीलाई दिन लबिङ थालेका हुन्।एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति उम्मेवारका रूपमा प्रस्ताव गरेका छन्।

Leave A Reply

Your email address will not be published.