माओवादीले जिम्मेवारी हेरफेर गर्ने

0

काठमाडौँ \  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जलगायतका नेताको जिम्मेवारी हेरफेर गर्ने भएको छ । मङ्गलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा जिम्मेवारी हेरफेरको प्रस्ताव पेस भएको छ । प्रस्तावमा छलफल भए पनि निर्णय भने भएको छैन ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार कोशी प्रदेश इन्चार्जमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम प्रस्ताव गरिएको छ ।

त्यस्तै उपत्यका विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य, सम्पर्क समन्वयमा देवप्रसाद गुरुङ, प्रवासमा राम कार्की र प्रवास मध्यपूर्वमा पम्फा भुसाललाई प्रस्ताव गरिएको सचिव गणेश साहले जानकारी दिनुभयो ।

बैठकमा अधिकांश नेताले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले छोड्न नहुने मत राखेर नेतृत्वलाई दबाब दिएका छन् । राजनीतिक वृत्तमा राष्ट्रिय सभा अध्यक्ष कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई दिने चर्चा भएपछि माओवादी नेताहरूले छाड्न नहुने मत राखेका हुन् । बैठकका छलफलबारे जानकारी दिँदै पार्टी प्रवक्ता सापकोटाले भन्नुभयो, “प्रस्तुत एजेन्डामा बृहत् छलफल ग¥यौँ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनबारे सबैले मत राख्नुभयो । अधिकांशले राष्ट्रिय सभाको अध्यक्ष छोड्नुहुन्न भन्ने मत राख्नुभएको छ ।”

वर्तमान राजनीतिक परिस्थिति, कार्यविभाजन, अभियान सञ्चालन, आगामी भावी योजनालगायतका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश इन्चार्जको नाम प्रस्ताव भएको छ । बुधबारको बैठकले टुङ्ग्याउँछ । केही कमिटी र सहइन्चार्जसहितका विषय पनि टुङ्गिन बाँकी छ ।”

नेपाली कांग्रेस महासमिति बैठकमा प्रस्तुत गठबन्धन नगर्ने सिफारिससहितका  प्रतिवेदनबारे पनि माओवादी नेताहरूले चासो व्यक्त गरेका छन् । गठबन्धन र सत्ता साझेदारीबारे स्थायी समितिका सदस्यले थप प्रस्ट हुन आग्रह गरेका छन् ।

पार्टी प्रवक्ता सापकोटाले भन्नुभयो, “नेपाली कांग्रेसको महासमिति बैठकमा पारित भएका विषय, राष्ट्रिय राजनीतिबारे त्यहाँ भएका छलफल र हिन्दु राज्यका लागि चलेका अभियानबारे पनि धारणा राख्ने काम भएको छ ।” तराई–मधेश अभियानबारे नेताहरूले धारणा राख्नुभएको छ । माओवादीको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा खट्ने नेता कार्यकर्तालाई सम्मान र नखट्नेलाई कारबाही गर्ने विषयमा पनि निर्णय हुन बाँकी छ । यी सबै विषयको निर्णय बुधबार बिहान बस्ने बैठकले गर्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.