राप्रपाले भन्यो– हाम्रो आन्दोलन व्यवस्था परिवर्तनको हो, ख्यालठट्टा नसोच्नुस्

0

काठमाडौँ \ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बुद्धिमान तामाङले पार्टीले बुधवारदेखि सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताएका छन् । मंंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गरे । उनले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तन, महँगी नियन्त्रण जस्तो आन्दोलन नभएको बताए । उनले पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र आन्दोलन भएकाले सबैले सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउन आग्रह गरे ।

उनले भने, ‘यो आन्दोलन सामान्य ख्याल ठट्टाको आन्दोलन होइन । यो सरकार परिवर्तन गर्ने, महँगीको विरोध गर्ने, केके विरोध गर्ने होइन । हामीले व्यवस्था र अवस्था परिवर्तन गर्ने आन्दोलन हो । सबैले यसमा सोचेर अघि बढ्नुपर्छ । यो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो । हामी भद्र आन्दोलन गर्ने हो ।’

पार्टीका सांसद धवल शमशेर जबराले राज्य पूर्णरुपले असफल भइसकेकाले व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्न लागेको बताए । उनले व्यवस्था र व्यवस्था चलाउने पात्रहरुलाई परिवर्तन गर्नको लागि आन्दोलन गरेकाले सोहीअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गरे । सांसद जबराले आन्दोलन आफूहरुका लक्ष्य प्राप्ति भएपछि मात्रै रोकिने दाबी गरे । उनले पार्टीसँग विचारधारा मिल्ने पार्टी, समूह, अभियन्तालाई समेटेर आन्दोलन अघि बढाउने बताए ।

Leave A Reply

Your email address will not be published.