बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु

0

काठमाडौँ \  संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त तालिमको उद्घाटन गर्नुभयो ।

शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि सुनिश्चित गर्ने उद्देश्यले आयोजित तालिम काभ्रेस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र पाँचखाल सञ्चालन हुनेछ । संयुक्त राज्य अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग  एवम्  नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन भएको हो । नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो ।

त्यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करणका अभ्यास सञ्चालन भइसकेका छन् । यस पटकको अभ्यास फागुन २१ गतेसम्म सञ्चालन हुनेछ । अभ्यासबाट शान्ति स्थापनामा देखापरेका चुनौतीबारे सहभागी राष्ट्रका सैनिकबीच अनुभव आदानप्रदानका साथै चुनौती सामना गर्न आवश्यक क्षमता एवम् समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । तालिम उद्घाटन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वशान्ति प्रयासका लागि संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सहभागितालाई महत्व दिँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली सेनाले शान्ति मिसनमा समावेशी संग्लनतालाई प्राथमिकता र महत्व दिँदै आएको छ, शान्ति स्थापनाका हिसाबले अति संवदनशील गोलन हाइटदेखि अफ्रिकाको सहारा मरुभूमिसम्म पुगेर देखाएको बहादुरीलाई विश्वले प्रशंसा गरेको छ । हाम्रो विश्वशान्तिमा लामो अनुभव र ऐतिहासिक उपस्थिति छ ।” अमेरिकको राजनीतिक तथा सैन्य मामिला ब्यूरोकी योजना तथा कार्यक्रमसम्बन्धी उपसहायक विदेशमन्त्री रेचल शिलर सिलरले अमेरिकाले विश्वशान्ति र सुरक्षामा संलग्न देशलाई क्षेत्रीय शान्तिका सन् २००५ देखि हालसम्म डेढ अर्ब डलर खर्च गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतका तुलनामा शान्ति मिसनमा शान्ति सुरक्षाकर्मीप्रति बहुआयामिक सुरक्षा चुनौती बढ्दै गएको छ । अमेरिका शान्ति मिसनको प्रभावकारिता बढाउन कटिबद्ध छ ।” नेपालका शान्ति स्थापनाप्रतिको प्रतिबद्धताका कारण आज हामी यहाँसम्म आइपुगेको बताउँदै उहाँले नेपालको शान्ति कायम गर्ने कार्यमा उत्कृष्ट उपलब्धिका लागि प्रशंसा गर्न चाहन्छु भन्नुभयो । सो अवसरमा नेपाली मौलिकता झल्कने भेषभूषासहितको गीत–सङ्गीत र नृत्य प्रस्तुत गरियो भने जीवित देवी कुमारीको झझल्को दिने संस्कार र संस्कृति प्रस्तुत गरियो ।

Leave A Reply

Your email address will not be published.